बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, नेप्से १६ अंकले बढ्यो, एक अर्ब बढी कारोबार

  २०७६ पुष २२ गते १५:३७     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानालाई शेयर बजारले स्वागत गरेको छ । पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएपछि त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा परेको हो ।

कारोबार शुरु भएदेखि नै उकालो लागेको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा उल्लेख्य सुधार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १६.२३ अंकले उकालो लागेर १२१६.९२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढेको हो भने गत चार महिना यताकै उच्चतम बिन्दु हो ।

सात महिना यताकै उच्च कारोबार

मंगलबार मात्रै एक अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जुन गत सात महिना यताकै उच्च कारोबार हो । गत जेठ १६ गतेको बजारमा करिब डेढ अर्ब रुपैयाँ बराबरको शेयर किनेबेच भएको थियो । मंगलबारको कारोबार रकम सोमबारको तुलनामा करिब २६ करोड रुपैयाँ बढी कारोबार भएको हो । गत सोमबार कूल ८४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

कूल १७९ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको शेयर किनबेच भएको छ । बैंकको एकैदिन १९ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकसँगै अधिकांश वाणिज्य बैंकको शेयर कारोबारमा सुधार देखिएको छ । बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश सुरक्षित गरी शेयर बिक्री गर्न थालेपछि उनीहरुको कारोबार रकममा वृद्धि भएको हो ।

बढी कारोबार गर्नेको टप टेन लिष्टमा माछापुच्छ्रे सहित ७ वटा वाणिज्य बैंक रहेका छन् । जसमा एनआईसी एशिया, प्रभु, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक, एनएमबि, सिद्धार्थ र सानिमा बैंक रहेका छन् ।

बजारमा दुई समूह बाहेक बाँकी १० समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ८६ अंकले उकालो लागेको छ । उत्पादनमूलक र होटल समूह क्रमशः २२.६६ र ८.३७ अंकले घटेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

मंगलबार सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था ९.९७, सेन्ट्रल फाइनान्स कम्पनी ९.७६ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ । सो दिन सबैभन्दा बढी बोटलर्स नेपाल(तराई)का शेयरधनीले ३.९४ प्रतिशत गुमाएका छन् ।