भ्रमण वर्ष शुरु भएसँगै होटल समूहमा उछाल, तीन होटल जसको शेयर कारोबार र मूल्य दुबैमा उच्च वृद्धि

  २०७६ पुष १६ गते १६:०५     विकासन्युज

काठमाडौं । आजबाट भ्रमण वर्ष २०२० शुरु भएसँगै नेप्सेमा सूचीकृत होटल समूहमा उच्च अंकको वृद्धि भएको छ । नयाँ वर्ष शुरु भएकै दिन होटल समूहको परिसूचक त्रिपल डिजिटले उकालो लागेको छ । बुधबारको बजारमा होटल समूह १६८.३२ अंकले बढेर १९९३.९८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ९.२२ प्रतिशत बढी हो ।

परिसूचकमा मात्रै नभएर कारोबार रकम र बढी कमाउने पनि होटल समूह नै अगाडि रहेका छ । बुधबारको बजारमा सबैभन्दा बढी ओरियन्टल होटलको शेयर कारोबार भएको छ । होटलको एकैदिन २ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । जसको शेयर मूल्य प्रतिकित्ता ४९९ रुपैयाँ रहेको छ । त्यस्तै, तारागाँउ रिजेन्सी होटलको एक करोड ९९ लाख र सोल्टी होटलको एक करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

बढी कारोबार हुने यी तीनै होटल कम्पनीको शेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । सबैभन्दा बढी तारागाँउ रिजेन्सी होटलको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, ओरियन्टल होटल र सोल्टी होटलका लगानीकर्ताले क्रमशः ९.९१ र ९.६८ प्रतिशत कमाएका छन् ।

समग्रमा बुधबारको नेप्से परिसूचक ३.४७ अंकले बढेर ११६९ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतको वृद्धि हो । बजारमा कूल १७६ कम्पनीको ३७ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।