२०७६ जेठ १७ गते १९:१७ विकासन्युज
काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कूल ४ अर्ब ३३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा ५१ हजार ७७८ पटकको कारोबार मार्फत एक करोड ३६ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको हो ।
सातामा नियमित पाँचैदिन कारोबार भएको सेयर बजारमा सबैभन्दा बढी शिवम सिमेन्टस् कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको कूल ६६ करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, प्रभु बैंकको ४३ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
साताभर बढी कारोबार गर्ने १० उत्कृष्ट कम्पनीहरुमध्ये अधिकांश वाणिज्य बैंकहरु रहेका छन् । जसमध्ये नेपाल बैंकको ३३ करोड ८१ लाख, अपर तामाकोशी हाइड्रोपावरको २६ करोड १७ लाख, एनसीसीको १२ करोड १२ लाख, कृषि विकास बैंकको १० करोड ९४ लाख, जनता बैंकको १० करोड, मेगा बैंकको ८ करोड ८१ लाख, एनआईसी एशिया ८ करोड ८१ लाख र नेपाल दुरसञ्चार कम्पनीको ७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
रकमकाे आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेता पनि काराेबार भएकाे कित्ताकाे आधारमा भने प्रभु बैंक अग्रस्थानमा देखिएकाे छ । साताभरमा प्रभु बैंकको १ हजार ५८७ कित्ता र शिवमको एक हजार २७ कित्ता सेयर बिक्री भएका छन् ।
साताको शुरुवात देखि अन्त्यसम्म नेप्से परिसूचक निरन्तर उकालो लागेको छ । पहिलो दिन १३०२ अंकमा रहेको नेप्से परिसूचक अन्तिम दिन १३१९ अंकमा पुगेको छ ।
कारोबारमा आएका अधिकांश समूहहरु ओरालो लागेका छन् । साताभरमा सबैभन्दा बढी ट्रेडिङ समूह ८४.६२ प्रतिशतले घटेको छ । हाइड्रोपावर ४७, होटल ४३, फाइनान्स ३३, अन्य ३२, निर्जीवन बीमा १८, उत्पादनमूलक १३ र विकास बैंक १.४८ प्रतिशतले घटेका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा बढी अर्थात २१.९२ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा ८.९८, म्युचअल फण्ड ६.८७ र वाणिज्य बैंक समूह २.२९ प्रतिशतले बढेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.