सूचीकृत सेयरको चुक्ता पुँजी १६ प्रतिशतले बढ्यो, २२ अर्ब ४० करोडको सेयर नेप्सेमा

  २०७६ जेठ १३ गते १८:५८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत सेयरहरुको चुक्ता मूल्य(चुक्ता पुँजी) एक वर्षमा १६.२६ प्रतिशतले बढेको छ । आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार २०७४को फागुनको तुलनामा २०७५ फागुनमा सूचीकृत सेयरहरुको चुक्ता मूल्य बढेर तीन खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो आव २०७४/७५ को फागुनसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको चुक्ता मूल्य तीन खर्ब ३६ अर्ब ८५ करोड रहेको थियो । त्यस्तै, सो अवधिसम्म कूल १९३ कम्पनी सूचीकृत रहेको थिए । उक्त संख्या चालु आवको फागुनसम्म बढेर २०५ पुगेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेटको पूर्वसन्ध्यामा अर्थात सोमबार जारी गरेका आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार सेयर बजारमा प्राथमिक सेयर(आईपीओ, हकप्रद र ऋणपत्र) बाटै २२ अर्ब ४० करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.७९ प्रतिशत घटी हो । कूल पुँजी मध्ये सबैभन्दा बढी ऋणपत्र मार्फत १४ अर्ब ५८ करोडको पुँजी परिचालन भएको छ । त्यस्तै, आईपीओ बाट ४ अर्ब ६८ करोड र हकप्रद सेयर बाट ३ अर्ब १४ करोड रुपैयाँ परिचालन भएको उक्त सर्वेक्षणमा जनाइएको छ ।

गत फागुनसम्मको नेप्से सूचाङ्कको प्रवृति

१३१ अंकले झर्यो नेप्से

एक वर्षको अवधिमा नेप्से परिसूचकमा १३१ अंकको गिरावट देखिएको छ । २०७४ फागुनमसान्तमा १२८६ बिन्दुमा रहेको नेप्से २०७५ को सोही अवधिमा घटेर ११५५ बिन्दुमा झरेको छ ।

बजार पुँजीकरण घटेर ४०.८ प्रतिशत

कूल गार्हस्थ्य उत्पादन(जीडीपी)को तुलनामा गत फागुनमा सेयरको बजार पुँजीकरण घटेर ४०.८ प्रतिशतमा झरेको रहेको छ । २०७५ असारमा १४ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ बजार पुँजीकरण रहेको सोही वर्षको फागुनसम्म घटेर १४ अर्ब ११ अर्ब ८९ करोड मा झरेको छ ।

२९ अर्बले घट्यो कारोबार रकम

एक वर्षको अवधिमा सेयर कारोबार रकम २९ अर्ब रुपैयाँले घटेको छ । २०७४ फागुनसम्म ८५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा २०७५ फागुनसम्म जम्मा ५६ अर्ब ९ करोडको सेयर किनबेच भएको छ । जुन प्रतिशतका आधारमा ३४.०८ प्रतिशत घटी हो ।

बढ्यो दर्ता कम्पनी र निक्षेप सदस्यको संख्या

एक वर्षको अवधिमा सीडीएस एण्ड क्लियरिङ् लिमिटेडमा दर्ता भएका कम्पनी र निक्षेप सदस्यहरुको संख्यामा वृद्धि देखिएको छ । २०७४ फागुनसम्म १९१ वटा कम्पनीहरु दर्ता भएका थिए भने २०७५ फागुनसम्म २०१ वटा कम्पनी दर्ता भएका छन् । त्यस्तै, निक्षेप सदस्य संख्या पनि ६६ बाट बढेर ६९ पुगेको छ ।

साथै, डिम्याट खाता खोल्नेको संख्या बढेर १४ लाख ६३ हजार ६२६ पुगेको छ । त्यस्तै, अभौतिकृत धितोपत्रको संख्या बढेर ४ अर्ब १२ करोड पुगेको छ ।