२०७६ असोज १३ गते १५:२६ विकासन्युज
काठमाडौं । दशैंको सुरूवातसँगै सेयर बजार दोहोरो अंकले बढेको छ । गत सातादेखि निरन्तर रूपमा ओरालो लागेको नेप्से परिसूचक सोमबार एकाएक १०.४२ अंकले बढेर ११३५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९३ प्रतिशत बढी हो ।
लामोसमय पछि दोहोरो अंकले बढेको साेमबारकाे बजारमा १६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सोमबार मात्रै कारोबारमा आएका तीन वाणिज्य बैंकको करोडौंको सेयर किनबेच भएको छ । सबैभन्दा बढी सनराइज बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको एक करोड ३१ लाख र नेपाल बैंकको एक करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
त्यस्तै, बजारमा कारोबारमा आएका ११ समूहमध्ये अन्य समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७१ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ६६, होटल ४९, उत्पादनमूलक ३८ र हाइड्रोपावर २० अंकले उकालो लागेको छ । राताम्मे भएको अन्य समूह भने ६.८२ अंकले ओरालो लागेको छ ।
सोमबार विभिन्न ४ वटा संस्थाको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । यूनियन हाइड्रो, साञ्जेन जलविद्युत, तिनाउ मिसन डेभलपमेन्ट बैंक र यूनाइटेड फाइनान्सको सेयर मूल्य ५ प्रतिशत बढीले बढेको हो ।
सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ३.७० प्रतिशतले घटेको छ ।
पछिल्लो समय बजारमा उतारचढाव त भइरहेको छ । यसका साथै, गत सोमबादेखि भने सेयर बजार निरन्तर रुपमा घटिरहेको थियो । गत साताको सोमबार नेप्से परिसूचक ११४० अंकमा रहेको थियो । त्यसपछि लगातार घटेर यस साताको आइतबार अर्थात हिजो ११२५ अंकमा झरेको थियो । तर सोमबारको सेयर बजार भने एकाएक दोहोरो अंकले बढेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.