२०७६ फाल्गुन ११ गते ६:३० विकासन्युज
काठमाडौं । आइतबारको सेयर बजारले तीन वटा आधारमा नयाँ कीर्तिमान रचेको छ । कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याका आधारमा आइतबारको बजारले नयाँ कीर्तिमान राख्न सफल भएको हो ।
एकैदिनको बजारमा कूल ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ३० हजार ४ सय ५७ पटकको कारोबारमा कूल ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जुन हालसम्मै उच्च कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्या भएको नेप्सेले जनाएको छ ।
अनलाइन कारोबार प्रणाली(नटस्) औपचारिक रुपमा सञ्चालनमा आएपछि दोश्रो बजारमा ऐतिहासिक सुधार आएको नेप्सेले जनाएको छ । जसको प्रभावले निरन्तर रुपमा कारोबारको गतिविधि बढेको नेप्सेले बताएको छ । आइतबार भएको कारोबार रकम मध्ये अनलाइनबाट मात्रै ४४ प्रतिशत सेयर किनबेच भएको छ । जुन रुपैयाँको आधारमा एक अर्ब ५९ करोड ७९ लाख रुपैयाँ हो ।
सोही दिन १२ हजार २ सय ९५ जना लगानीकर्ता कारोबारमा संलग्न थिए । जसमध्ये ३ हजार एक सय ८८ जनाले अनलाइनमार्फत ४९ हजार ८ सय ४४ आदेश प्रविष्ट गरी १५ हजार एक सय ८४ को संख्यामा कारोबार गरेका नेप्सेले जनाएको छ ।
त्यसैगरी, सो दिन ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर किनबचे भएको थियो । जसमध्ये अनलाइनबाट मात्रै ३८ लाख ४० हजार ९ सय २ कित्ता सेयर किनबेच भएको छ ।
नेप्सेका अनुसार हालसम्म २१ हजार ६ सय ६७ जना लगानीकर्ताले अनलाइन कारोबार गर्नको लागि युजरनेम र पासवर्ड लिएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.