२०७६ फाल्गुन १४ गते ११:४४ विकासन्युज
काठमाडौं । बुधबार सेयर बजार खुलेको आधा घण्टामै दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यो समाचार तयार पार्दा(११ बजेर ३१ मिनेट) सम्ममा यूनिलिभर नेपाल र दिब्यश्वरी हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
जसमध्ये यूनिलिभरको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबारमा सर्किट ब्रेक लागेको छ । कम्पनीको प्रतिकित्ता १९ हजार ६ सय ३३ रुपैयाँ सेयर कारोबार खुलेको थियो । त्यसपछिको आधा घण्टाको कारोबारमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ९ सय ६३ रुपैयाँले बढेर प्रतिकित्ता २१ हजार ५ सय ९६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, दिब्यश्वरीको प्रतिकित्ता ५३ रुपैयाँमा सेयर कारोबार खुलेको थियो । साढे ११ बज्दा कम्पनीको सेयर मूल्य ९.४३ प्रतिशतले बढेर प्रतिकित्ता ५८ रुपैयाँ पुगेको छ ।
यी मध्ये यूनिलिभरको सेयर किन्नेमा चाप देखिएको छ तर बेच्न इच्छुक कोही पनि छैनन् । सो अवधिसम्म ६० कित्ता सेयर किन्न लगानीकर्ताहरु इच्छुक रहेको देखिएको छ ।
उता दिब्यश्वरीको पनि बेच्नेमा भन्दा किन्नेकै चाप बढी छ । सो अवधिसम्म ३ हजार ८ सय ३९ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ तर जम्मा ७ सय कित्ता मात्र बिक्रीमा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.