पुँजी बजारमा दिनदिनै नयाँ रेकर्ड, साढे ४ अर्बको कारोबार, बढी कमाउनेमा वाणिज्य बैंक अगाडी

  २०७६ फाल्गुन १५ गते ३:१५       विकासन्युज

काठमाडौं । पछिल्लो समय पुँजी बजारले दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको छ । पछिल्लो सातादेखि यता नियमित बढ्दै गएको सेयर बजारले बिहीबार पुनः नयाँ रेकर्ड हासिल गरेको छ ।

बिहीबारको बजारमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन हालसम्मकै ऐतिहासिक सेयर कारोबार हो । यस अघि बुधबार(हिजो) मात्रै ४ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा १८० कम्पनीको एक करोड ८ लाख ५९ हजार कित्ता सेयर किनबेच भएका छन् ।

दिनभर उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक पनि ३६.०५ अंकले बढेर १६३२.१७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशतले बढी हो ।

उच्च कारोबार भएको बजारमा बढी कमाउनेमा वाणिज्य बैंक अग्रस्थानमा देखिएका छन् । विभिन्न चार वाणिज्य बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल एसबीआई बैंकको ९.९४, हिमालयन बैंकको ९.९२ र नबिल बैंकको ९.७७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बढी कारोबार गर्ने टप टेनमा वाणिज्य बैंकमात्रै ८ वटा

बिहीबार बढी कारोबार गर्ने टप टेनमा १० वटै कम्पनीको साढे१० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा वाणिज्य बैंकमात्रै ८ वटा रहेका छन् । बढी कारोबार गर्नेमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

एनआईसी एशिया बैंक, एनएमबि बैंक, नबिल बैंक, प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र एभरेष्ट बैंक रहेका छन् । सबैको साढे १० करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

बिहीबार कारोबारमा आएका १२ वटा समूहमध्ये तीन वटा उकालो लागेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । उकालो लाग्नेमा सबैभन्दा बढी बैंकिङ्ग समूह ८३.२९ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक ३८.६५ र उत्पादनमूलक समूह १६.४५ अंकले बढेका छन् ।

बुधबार उच्च अंकले उकालो लागेका बीमा समूह बिहीबार ओरालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २१३ अंकले ओरालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह १६४.६३ अंकले घटेको छ । म्युचअल फण्ड र फाइनान्स समूह सामान्य अंकले घटेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।