नेप्से दोहोरो अंकले बढ्दा पौने ४ अर्बको कारोबार, माइक्रोफाइनान्समा उच्च गिरावट

  २०७६ फाल्गुन २० गते ४:१८       विकासन्युज

काठमाडौं । उतारचढाव देखिएको मंगलबारको नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशतले बढेर १५०९.६७ अंकमा पुगेको छ ।

कारोबार शुरु भएको केही बेरमै ५३ अंकले घटेको थियो । त्यसपछि बढेर १५२४ अंकमा पुगेको नेप्से पुनः घटबढ भइ अन्ततः १५०९ अंकमा पुगेको बन्द भएको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६१ अंकले बढेर ३२४.०४ अंकमा पुगेको छ ।

बजारमा कूल ३ अर्ब ८५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल १८१ कम्पनीको ८२ लाख ११ हजार २८९ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ४० करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, एनएमबी बैंकको २५ करोड, एनआईसी एशिया बैंकको १८ करोड, हिमालयन डिष्टिलरीको १४ करोड, नबिल बैंकको १२ करोड र एभरेष्ट बैंकको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ३ वटा समूह राताम्मे भएका छन् भने बाँकी हरिया देखिएका छन् । सबैभन्दा बढी माईक्रोफाइनान्स समूह ११८ अंकले ओरालो लागेको छ । अघिल्लो दिन २५०४ अंकमा रहेको माइक्रोफाइनान्स समूह घटेर २४०५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.६१ प्रतिशतले कम हो ।

नेपाल राष्ट्र बैंकले साेमबार सार्वजनिक गरेकाे आर्थिक २०७६/७७काे मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षाकाे प्रभाव सेयर बजारमा परेकाे छ । जसमा राष्ट्र बैंकले माइक्रोफाइनान्सको लाभांशमा अंकुश लगाएकाे थियाे ।

वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेकाे छ ।