२०७६ फाल्गुन २० गते ६:३१ विकासन्युज
काठमाडौं । मंगलबारको सेयर बजारमा माइक्रोफाइनान्स समूह उच्च अंकले घटेको छ । बजार दोहोरो अंकले बढे पनि माइक्रोफाइनान्स समूह भने त्रिपल डिजिटले ओरालो लागेकाे छ ।
दिनभरको कारोबारमा उक्त समूह ११६.१४ अंकले घटेर २४०५.२७ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.६१ प्रतिशतले घटी हो ।
सोमबार माइक्रोफाइनान्स समूह २५१२.२७ अंकमा रहेको थियो । मंगलबार बजार खुलेको केही समयमै उक्त समूह घटेर २३५५.३६ अंक सम्ममा झरेको थियो । त्यसपछि भने केही उतारचढाव देखिएको उक्त समूहको सूचक बजार बन्द हुँदा २४०५.२७ अंकमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्स तथा लघुवित्त वित्तीय संस्थाकाे लभांशमा अंकुश लगाएसँगै त्यसको प्रभाव मंगलबार माइक्रोफाइनान्स कम्पनीको सेयर कारोबारमा परेको हो ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीति आर्थिक वर्ष २०७६/७७को अर्ध वार्षिक समिक्षा मार्फत लघुवित्त वित्तीय संस्थाहरुले गर्ने लाभांश (नगद वा बोनस सेयर) वितरण सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरी वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस सेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने जनाएको थियो । त्यसैको प्रत्यक्ष असर माइक्रोफाइनान्स कम्पनीमा परेको हो ।
मंगलबार माइक्रोफाइनान्स तथा लघुवित्त कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् । मंगलबार बढी गुमाउनेको टप टेन लिष्टमा सबै माइक्रोफाइनान्स तथा लघुवित्त कम्पनी मात्र रहेका छन् । जसमध्ये ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक नै लागेको छ ।
सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९९ र स्पर्श लघुवित्तको ९.९५ प्रतिशतले घटेर मूल्यमा सर्किट ब्रेक लागेको छ ।
गत साताको बुधबार माइक्रोफाइनान्सको सूचक २८०३ अंकमा पुगेको थियो । जुन पछिल्लो एक महिना यताकै उच्च बिन्दु हो । त्यसपछिको कारोबारमा भने उक्त समूहको सूचक निरन्तर ओरालो लागेको छ ।
सम्बन्धित समाचारः
Copyright © 2025 Bikash Media Pvt. Ltd.