सेयर बजारमा तीव्र गिरावट, ७ लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट

  २०७६ फाल्गुन २१ गते ३:३०       विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा तीव्र गिरावट देखिएको छ । दिनभरको बजारमा नेप्से परिसूचक ६८.४७ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ४.५४ प्रतिशतले घटेर १४४१.२० अंकमा झरेको छ ।

तीव्र उतारचढाव देखिएको बुधबारको बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा ४५६ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ४०६, माइक्रोफाइनान्स १४८, उत्पादनमूलक ८८, होटल ८०, विकास बैंक ७२ र बैंकिङ ६० अंकले घटेका छन् । म्युचअल फण्ड बाहेक समान्य ०.१२ अंकले घटेको छ भने बाँकी दोहोरो अंकले ओरालो लागेका छन् ।

मंगलबार जस्तै बुधबार पनि माइक्रोफाइनान्स तथा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बढी कमाएका छन् । जसमध्ये ७ वटा लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वेदेशी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डभेलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

त्यस्तै, स्पर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६७, सिभिल लघुवित्त वित्तीय संस्थाको ९.९६७ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९६३ प्रतिशतले घटेको छ ।

बजारमा कूल १७४ कम्पनीको सेयर कारोबार भएको छ । दिनभरको बजारमा ६७ लाख ७१ हजार १४१ कित्ता सेयर २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार २ सय ५० रुपैयाँ रहेको छ ।