२०७६ फाल्गुन २१ गते ४:३१ विकासन्युज
काठमाडौं । गुडविल फाइनान्सले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि संस्थाले आगामी फागुन २८ गतेदेखि सो मात्राको ऋणपत्र जारी गर्न लागेको हो ।
७ वर्षे भुक्तानी अवधि भएको यस ऋणपत्रले वार्षिक १२ प्रतिशत व्याजदर प्रदान गर्दछ । उक्त व्याजदर अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा बढी हो । अन्य बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रकाे व्याजदर १० देखि करिब ११ प्रतिशत रहेकाे छ ।
फागुन २८ गतेदेखि बिक्री खुला हुने यस ऋणपत्र निष्काशन छिटोमा चैत २ र ढिलोमा चैत १२ गते बन्द हुने संस्थाले जनाएको छ ।
संस्थाले एक हजार रुपैयाँ अंकित दरकोे कूल २ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये एक लाख ५० हजार कित्ता संस्थागत/व्यक्तिहरुलाई र बाँकी एक लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुल्ला गर्ने छ । सर्वसाधारणलाई बिक्री गर्ने मध्ये ५ प्रतिशत अर्थात ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाएको छ ।
एनआईबिएल एस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ ।
यस्ताे छ कम्पनीकाे अवस्थाः
संस्थाको ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एल बीबी’ रेटिङ्ग प्रदान गरेको छ । जसले संस्थाको कर्जा जोखिमको मध्यम रहेको बुझिन्छ । जसलाई समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छ ।
गत आवमा संस्थाको प्रतिसेयर नेटवर्थ १४९.७३ रुपैयाँ, प्रतिसेयर आम्दानी १८.४८ रुपैयाँ र संचित नाफा नोक्सान ८ करोड ५६ लाख ८२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, चालु आवमा प्रतिसेयर नेटवर्थ १६३.६२ रुपैयाँ, प्रतिसेयर आम्दानी २०.६१ रुपैयाँ र संचित नाफा नोक्सान १५ करोड ९८ लाख २३ हजार रुपैयाँ प्रक्षेपण गरिएको संस्थाले जनाएको छ ।
यो ऋणपत्र जारी भएको मितिले ६ महिना भित्रमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत हुनुपर्ने छ । प्रति ऋणपत्र एक हजार रुपैयाँको दरले निष्काशन गरिएको मूल्यले सूचीकरण पश्चात धितोपत्र बजारमा हुने कारोबार मूल्य नजनाउने भएकाले ऋणपत्र मूल्यमा हुन सक्ने परिवर्तनको जोखिम रहेको संस्थाले जनाएको छ ।
काठमाडौंको हात्तीसारमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जारी पुँजी र चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.