सेयर बजारमा उतारचढाव, ४५ अंकले घट्यो नेप्से, सबै समूह राताम्मे

  २०७६ फाल्गुन २९ गते ३:२६       विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारमा तीव्र उतारचढाव भएको छ । बुधबार उच्च अंकले बढेको नेप्से बिहीबार पुनः ४५.९१ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.२३ प्रतिशत कम हो ।

साताको सेयर बजार बढ्दा उच्च अंकले बढ्ने र घट्दा पनि उच्च अंकले घट्ने भइरहेको छ । गत मंगलबार नेप्से परिसूचक ८६ अंकले घटेको थियो । बुधबारको बजार ७४ अंकले बढेको थियो । त्यसपछि बिहीबारको बजार फेरि ४५.९१ अंकले घटेर १३७७.१८ अंकमा झरेको छ ।

तीव्र उतारचढाव

गत बिहीबार देखि यस साताको बिहीबारसम्म नेप्से परिसूचक ५८ अंकले घटेको छ । गत बिहीबार १४३५ अंकमा रहेको नेप्से परिसूचक आज घटेर १३७७ अंकमा झरेको छ । मंगलबारदेखि बिहीबारसम्म कारोबार भएको जम्मा तीन दिनको बजारमा सो मात्राको कमी आएको छ ।

बिहीबारको बजारमा कूल २ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १८२ कम्पनीको ५६ लाख ८६ हजार ६ सय ८१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा आएका सबै समूह ओरालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा बढी ३१७ अंकले ओरालो लागेको छ । त्यस्तै, जीवन बीमा २३७, अन्य समूह ०.१९ र बाँकी समूह दोहोरो अंकले घटेका छन् ।

कूल १८२ कम्पनीको कारोबार भएको बजारमा जम्मा ९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । घटेको बजारमा उनीहरुको सेयर मूल्य अघिल्लो दिनको तुलनामा सामान्यले बढेको छ । सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य २.४८ प्रतिशतले बढेको छ ।