२०७६ फाल्गुन ३० गते ८:१८ विकासन्युज
काठमाडौं । लगानीकर्ताले अब बिहान ११ बजेदेखि ४ बजेसम्म दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने भएका छन् । हालसम्म दिनमा जम्मा ४ घण्टा सेयर खरिद बिक्री गर्दै आएका लगानीकर्ताले अब ५ घण्टासम्म सेयर किनबेच गर्न पाउने छन् ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कारोबारको समय व्यवस्थित बनाउन हालको नियमित समयमा थप एक घण्टा थपेर कारोबार समय ५ घण्टा पुर्याएको हो । यससँगै लगानीकर्ताले अब चैत २ गते(आइतबार)देखि नै उक्त सुविधा पाउने भएका हुन् ।
काराेबार समय तीन चरणमा विभाजन
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार उक्त समयावधि बढाइएको नेप्सेले जनाएको छ । उक्त कारोबार समय तीन चरणमा विभाजन गरिएको छ । यससँगै अब कारोबार खुलेको दिनमा बिहान साढे १० बजेदेखि ११ बजेसम्म प्रारम्भिक कारोबार, ११ देखि ४ बजेसम्म बोलकबोल तथा निरन्तर कारोबार र ४ देखि ४ बजेर ५ मिनेटसम्म अन्तिम कारोबार हुने नेप्सेले जनाएको छ ।
उक्त निर्णय फागुन ३० गते(शुक्रबार) बसेको नेप्से सञ्चालक समितिको बैठकले गरेको हो । जुन बोर्डको अर्को सूचना नभएसम्म परिक्षणका लागि लागू हुने नेप्सेले जनाएको छ ।
हालसम्म कारोबार खुलेको दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजे(४ घण्टा)सम्म सेयर कारोबार गर्न पाइन्थ्यो । कारोबार हप्तामा ५ दिन अर्थात आईतबारदेखि बिहीबारसम्म खुल्ने गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.