३९ मिनेटमै नेप्सेमा लाग्यो सर्किट, आजको लागि कारोबार स्थगित

  २०७७ वैशाख ३१ गते ११:४६       विकासन्युज

काठमाडौं । बुधबार सेयर कारोबार खुलेको ३९ मिनेटमै नेप्से परिसूचकमा सर्किट ब्रेक लागेको छ । साे दिन ११ बजेर ३९ मिनेटमै नेप्से परिसूचक २४.५८ अंक अर्थात २ प्रतिशतले बजार घटेर सर्किट ब्रेक लागेको हो ।

यससँगै आजको लागि सम्पूर्ण सेयर कारोबार बन्द भएको छ ।

नेप्से परिसूचक निरन्तर घटेर १२०१.५७ अंकमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.३५ अंकले घटेर २६० अंकमा झरेको छ ।

बजारमा कूल ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो अवधिमा ७४ कम्पनीको १० हजार ५ सय २६ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको ८ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको छ ।

सो दिन लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा सर्किट लागेको छ । उनीहरुको सेयर मूल्य ३ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको हो ।

त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् ।

उपत्यकामा कोरोनाको त्रास केही कम भएको र लकडाउन पनि अलि खुकुलो बन्दै गएपछि २ घण्टाका लागि सेयर बजार खोलिएको थियो । मंगलबारदेखि खोलिएको बजार निरन्तर ओरालो लागिरहेको छ र कारोबार अवधि नसकिँदै बजार बन्द भएको छ ।

बजार घटेसँगै केही लगानीकर्ता भने यो अवस्थामा बजार खुलाउन नहुने भनेर चर्काे विराेध गरिरहेका छन् । यसले साना लगानीकर्तालाइ थप मारमा पर्छन् भन्ने उनीहरूकाे बुझाइ छ ।

तर, बजारका जानकारहरु भने कोरोनाको मानसिक त्रासले गर्दा पनि केही दिन कारोबार घट्नु स्वाभाविक रहेको  बताउँछन् ।