२०७७ माघ १३ गते ३:४१ विकासन्युज
काठमाडौं । एक सातायता निरन्तर उकालो लागिरहेको बजार आज मंगलबार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक अन्ततः १७.७९ अंकले घटेर २४२३ बिन्दुमा बजार बन्द भएको छ । जुन सोमबारको तुलनामा ०.७३ प्रतिशतले घटी हो ।
त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.५८ अंकले घटेर ४४७.२४ बिन्दुमा झरेको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभर कारोबार भएको बजारमा २०७ कम्पनीको ८ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जबकी सोमबारको बजारमा ८ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको एक अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २८७२ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४०८ रुपैयाँमा भएको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि ४ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १५४४ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्सको ९.९४ प्रतिशत, यूनाईटेड फाइनान्सको ९.८८ प्रतिशत र एभरेष्ट बैंकको प्रमोटर सेयर ९.७६ प्रतिशतले बढेको छ ।
मंगलबार शिवश्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीका लगानीकर्ताले सोमबारको तुलनामा ४.९५ प्रतिशत अर्थात प्रतिकित्ता ९ रुपैयाँ गुमाएका छन् । मंगलबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १७३ रुपैयाँमा भएको छ ।
बजारमा होटल र फाइनान्स समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । होटल समूह ५४ र फाइनान्स समूह १३ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ९८ अंकले ओरालो लागेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.