२०७७ माघ १५ गते ३:३१ विकासन्युज
काठमाडौं । बिहीबारको बजारमा करिब पौने १० अर्बको सेयर कारोबार भएको छ । सो दिन कूल २०९ कम्पनीको कूल ९ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जुन हालसम्मकै उच्च काराेबार हाे ।
जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ६२ रुपैयाँले घटेर प्रतिकित्ता २३४९ रुपैयाँमा झरेको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको बिहीबार प्रतिकित्ता एक हजार ५ सय २३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
उच्च काराेबार भएकाे बजारमा नेप्से परिसूचक भने १६ अंकले घटेर २४२५ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६८ प्रतिशतले कम हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.३२ अंकले घटेर ४४२.०६ बिन्दुमा झरेको छ ।
बिहीबार ७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । जसमध्ये ६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सूर्योदय लघुवित्त र सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य बढेर क्रमशः प्रतिकित्ता १७२७ रुपैयाँ र १३९७ रुपैयाँ पुगेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.९८, प्रभु इन्स्योरेन्स ९.९७, आरम्भ चौतारी लघुवित्तको ९.९७, एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर ९.७९ र सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.४७ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्डको मूल्य ६.७८ प्रतिशतले घटेको छ । जसको प्रतिइकाई ११ रुपैयाँमा झरेको छ ।
साताको अन्तिम कारोबारमा तीन समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । निर्जीवन बीमा ४१०, उत्पादनमूलक १६७ र माइक्रोफाइनान्स ८७ अंकले बढेको छ । सबैभन्दा बढी विकास बैंक समूह ४३ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ४२, वाणिज्य बैंक ४१ लगायत होटल समूह २५ अंकले ओरालो लागेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.