साधारणसभाको मिति तय नहुदै सिभिल बैंकमा चुनाबी चटारो, कर्मचारी खटाएर प्रोक्सी संकलनमा दौडधुप

<p>काठमाडौं । दुई वर्षदेखि साधारणसभा गर्न नसकेको सिभिल बैंक लिमिटेडमा आगामी सञ्चालक समिति सदस्य बन्नको लागि दौडधुप चलेको छ । खासगरी संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदहरुमा आफू अनुकूल व्यक्ति बैंकमा ल्याउन अध्यक्ष इच्छाराज तामाङले बैंकका कर्मचारी लगाएर प्रोक्सी संकलन थालेका छन् । बैंक स्थापनादेखि नै अध्यक्ष तामाङको इसारामा काम गर्दै आएकी सिर्जना गुरुङ प्रोक्सी [&hellip;]</p>

काठमाडौं । दुई वर्षदेखि साधारणसभा गर्न नसकेको सिभिल बैंक लिमिटेडमा आगामी सञ्चालक समिति सदस्य बन्नको लागि दौडधुप चलेको छ । खासगरी संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदहरुमा आफू अनुकूल व्यक्ति बैंकमा ल्याउन अध्यक्ष इच्छाराज तामाङले बैंकका कर्मचारी लगाएर प्रोक्सी संकलन थालेका छन् ।

बैंक स्थापनादेखि नै अध्यक्ष तामाङको इसारामा काम गर्दै आएकी सिर्जना गुरुङ प्रोक्सी संकलनमा खटिरहेकी छन् । उनले संस्थापक सेयरधनीहरुसँग भेटेर तामाङ समूहको उम्मेदवारलाई सञ्चालक समितिमा जिताउन भन्दै प्रोक्सी संकलन थालेकाे बैंकका सेयरधनीहरुले बताएका छन् ।

तर गुरुङले आफूले प्रोक्सी संकलन गर्ने काम नगरेको दावी गरिन् । बैंकको कामले मुख्य प्रवद्र्धकहरुसँग भेट्नु एउटा पाटो हो तर प्रोक्सी लिन भनेर म प्रमोटरलाई भेट्न गएकी छैन’ सिर्जना गुरुङले भनिन् ।

संस्थापकहरु गुटगुटमा विभाजित भएकाले यस बैंकभित्र स्वार्थको लडाई पेचिलो बन्दै गएको जानकारहरु बताउँछन् । बैंक स्थापना भएदेखि ९ वर्षसम्म इच्छाराज तामाङले यस बैंकको नेतृत्व गरेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ ले सांसदलाई बैंकको संचालक बन्न रोक लगाएपछि इच्छाराज तामाङ्ले बैंक छोडेका थिए । तर उनको सट्टामा तामाङकाे श्रीमती सञ्चालक समितिमा नियुक्त भएकी थिइन् । संसाद पद गुमेपछि तामाङ फेरि बैंकको अध्यक्ष भएका छन् ।

रियलस्टेट विजनेशमा समस्या भाेग्दै अाएका तामाङलार्इ पुन नेतृत्व  दिदा बैंककाे दुरुपयाेग गर्न सक्ने सम्भावना देखिएकाे अाशंका अन्य प्रवर्द्धककाे मनमा पलाएकाे छ । एउटै व्याक्तिले लामाे समय नेतृत्व गरेकाे संस्थामा संस्थागत सुशानस कमजाेर भएकाे भन्दै राष्ट्र बैंकले पनि समय समयमा नेतृत्व परिवर्तन खाेजेकाे छ ।

सिभिल, कुमारी, एनसीसी बैंकहरुले वार्षिक साधारणसभा समयमा नगरेको, तोकिएको समयमा पुँजी वृद्धि नगरेको, वित्तीय रिपोर्ट समयमा नबुझाएको विषयलाई राष्ट्र बैंकले गम्भिर रुपमा लिएको छ । ‘२०७४ असार मसान्तसम्मको नाफालाई पुँजीकृत गरी चुक्ता पुँजी ८ अर्ब बनाउने राष्ट्र बैंकले अवसर दिएको हो । तर अबसरको सदुपयोग गर्नुको साट्टो विभिन्न वहानामा लेखापरीक्षण भएको आर्थिक वर्ष २०७३/७४ को आर्थिक प्रतिवेदन बुझाउन ढिला गरेका छन् । कम्पनी ऐनले तोकेको अवधिमा साधारणसभा समेत गरेका छैनन्, यो राम्रो अभ्यास होइन’ राष्ट्र बैंकका उच्च अधिकारीले भने ।

मर्ज, हकप्रद सेयर निष्काशन जस्ता पुँजी वृद्धिको प्रसायले केही समय बढी लागे पनि दुई आर्थिक वर्षसम्मको आर्थिक विवरण लेखापरीक्षण नहुनु, साधारणसभा नगर्नु, ठिक ठिक समयमा सञ्चालक समिति चयन नहुनु बैंकहरुको लापारवाही भएको उनले बताए ।

आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण भएको आर्थिक प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत भईसकेको उनले जानकारी दिए । ‘राष्ट्र बैंकले केही सुझाव र निर्देशनसहित वार्षिक प्रतिवेदन स्वीकृत गरिसकेको छ, साधारणसभा बोलाउन बैंकले किन ढिला गरेको छ, त्यो जानकारी भएन’ उनले भने ।

२८ वटा वाणिज्य बैंक मध्ये सिभिल बैंक सबैभन्दा कमजोर अवस्थामा छ । अझैसम्म पनि बैंकले न्युनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन सकेको छैन ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ छ । आर्थिक वर्ष २०७३/७४ को नाफा र आईएलएफसीसँगको मर्जबाट संचित कोषमा जम्मा भएको रकम बोनस सेयरको रुपमा वितरण गरेर पुँजी ८ अर्ब पुर्याउने बैंकको योजना थियो ।

Share News