बागलुङ । बागलुङ जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब ३४ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो ।
सबैभन्दा बढी बागलुङ नगरपालिकालाई ८५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई ५१ करोड एक लाख रुपैयाँ, जैमिनी नगरपालिकालाई ५२ करोड २४ लाख रुपैयाँ र ढोरपाटन नगरपालिकालाई ३७ करोड एक लाख रुपैयाँ बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
यस्तै बडिगाड गाउँपालिकालाई ४८ करोड चार लाख, काठेखोलालाई ३९ करोड ७६ लाख, निसीखोलालाई ३३ करोड १२ लाख, बरेङलाई ३० करोड पाँच लाख, ताराखोलालाई २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई २१ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, सपपूरक अनुदान, राजश्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ ।
प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् । सङ्घीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन् । समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि काम भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । रासस