केमिकल हालेर सिसडोललाई एकहप्ताभित्र दूर्गन्धमुक्त बनाउँछौं : मेयर बालेन

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ताभित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ताभित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् ।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् । त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उनले बताए । मेयर साहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्याँस पनि बनाईन्छ । त्यसका लागि ३ महिना लाग्छ, केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाईन्छ, बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो, सडने र नसडने फोहोर छुट्टयाउने, त्यसबाट मल र ग्यास निकाल्ने हो, सडने र नसडने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ,’ उनले भने ।

मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि सार्वजनिक गरे । त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे । स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाई थियो ।

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहोर्याए । यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।

Share News