नयाँ वर्षमा लोकतन्त्रप्रतिको विश्वास थप मजबुत बन्नेछ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा  रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवर्द्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास गरेका छन् । नयाँ वर्षमा मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने उनको विश्वास छ । 

नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, ‘हामीले लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, र शान्ति प्रक्रियाको संस्थागत अभ्यास सुरु गरिसकेका छौँ, यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो, हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन ।’ 

विविध संस्कृतिहरू र गेरवशाली इतिहास बोकेको नेपाल नयाँ सम्भावनाहरू तर्फ अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा विकास र समृद्धिको दिशामा अघि बढ्न भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरूलाई सुदृढ गर्दै पूर्वाधार विकास गर्नुपर्ने बताए । 

शुभकामना सन्देशमा भनिएको छ, ‘नयाँ वर्षले नेपाली समाजमा आपसी मेलमिलाप, एकता, समृद्धि र लोकतान्त्रिक मूल्य-मान्यता प्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा लिएको छु ।’ 

नेपालमा नयाँ वर्षको उत्सव सांस्कृतिक र सामाजिक परम्परासँग गहिरो रूपमा गाँसिएको उल्लेख गर्दै उनले नयाँ वर्षलाई नवीकरणको प्रतीकको रुपमा मानिने बताए । जसले नयाँ लक्ष्य निर्धारण गर्न, सकारात्मक परिवर्तनलाई आत्मसात गर्न र एकताको भावना विकसित गर्न प्रेरित गर्ने उनको विश्वास छ ।

Share News