पौने ५ अर्बमा ६० वटा भिल्लासहित पाँचतारे होटल बन्दै, यसै वर्ष सञ्चालनमा आउने

काठमाडौं । भक्तपुरको गुण्डुस्थित ४ अर्ब ७५ करोडभन्दा बढी लगानीमा टाइम-सेयर मोडलका ६० वटा भिल्ला रिसोर्ट र एउटा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल बन्ने भएको छ । 

स्वनिगः रिसोर्ट प्रालिले यो परियोजना बनाउन लागेको हो । नयाँ वर्ष २०८२ को अवसर पारेर स्वनिगः ले वैशाख १ गते भूमि पूजा गरेर निर्माण थालनी गरेको हो ।

यो परियोजनामा विभिन्न मनोरञ्जन केन्द्रहरू पनि समावेश हुने जनाइएको छ । उक्त प्रोपर्टी नयाँ नेपाली ब्रान्ड स्वनिगः अन्तर्गत सञ्चालन हुनेछ । 

स्वनिगः नेवारी शब्द हो जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका हो । स्वनिगः उक्त परियोजनाको लागि उपयुक्त नाम हो, जसले यी सहरहरूमा सहअस्तित्वमा रहेको स्थापत्य (पर्फर्मिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई पुनः निर्माण गर्ने लक्ष्य राखेको छ ।

प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृङखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ ।यहाँबाट उपत्यकाका प्राचीन तीन सहर येँ, यलः र ख्वपःका विहंगम दृश्य देखिन्छ ।

यो महत्वाकांक्षी परियोजना नेपाली संस्कृति, सम्पदा र संगीतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पारखी र प्रकृतिप्रेमीका लागि उत्कृष्ट गन्तव्य हुने स्वनिगः रिसोर्ट प्रालिले जनाएको छ ।

यो गन्तव्यले स्थानीय समुदायको उत्थान गर्दै नेपाली र स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य राख्नेछ । यो परियोजना इम्प्लिमेन्टिब एक्सपर्टस् ग्रुप (आईईजी)ले एस एन्ड जेजी होल्डिङ्ग (अस्ट्रेलिया) सँगको संयुक्त उपक्रममा सञ्चालन गरिरहेको छ । 

आईईजीको प्रतिनिधित्व अमृत रत्न शाक्य र सुवर्ण कृष्ण श्रेष्ठले गरिरहेका छन्, जसले ५० वर्षदेखि मन्दिर, सत्तल जस्ता विशाल संरचनाहरूको निर्माण गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा प्रशंसा र पुरस्कार जितेका छन् । 

उनीहरू समिट होटल, एयरपोर्ट होटल र निर्माणाधीन ओएसीस होटलमा लगानी गरेर अतिथि सत्कार परियोजनाहरूमा पनि संलग्न छन् । अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट्स प्रालि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) कम्पनी हो । 

यसमा विश्वव्यापी रूपमा शिक्षा, अतिथि सत्कार तथा रियल स्टेट क्षेत्रमा सक्रिय अगुवा गैर-आवासीय नेपाली (एनआरएन) मध्येमा पर्ने शेष घले र जमुना घले गुरुङको स्वामित्व छ । 

एस एन्ड जेजीले आफ्नो सहायक कम्पनी एमआईटी ग्रुप होल्डिब्समार्फत यसअघि नै काठमाडौंको कान्तिपथमा एउटा पाँचतारे होटल निर्माण गरिसकेको छ । 

उक्त विलासी पाँचतारे होटल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने र अतिथि सत्कार क्षेत्रमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको परियोजना बन्ने अपेक्षा गरिएको छ । 

एस एन्ड जेजीले काठमाडौंबाहिर पनि अन्य पर्यटनसम्बद्ध व्यावसायीक अवसरहरूको सक्रियतापूर्वक अन्वेषण गरिरहेको छ । र, ऊर्जा क्षेत्रमा पनि हात हाल्ने यसको लक्ष्य छ । अन्तर्राष्ट्रिय व्यावसायीक गतिविधिमा संलग्नताबाहेक शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष पनि हुन् । उनी नेपाल र विदेशका धेरै परोपकारी सामाजिक संस्थाहरुमा जोडिएका छन् ।

यो परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

Share News