काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगातार सरकारप्रति आक्रोशित देखिँदा सभापति शेरबहादुर देउवा भने मौन बसिरहेका छन् । सरकार गठन भएको नौ महिना पुग्न लाग्दा पनि कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै थापा लगातार आलोचनामा उत्रिँदै आएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले दुई ठूला दलको सहकार्यमा बनेको सरकारले अपेक्षाअनुसार काम नगरेको आरोप लगाए । संविधान संशोधनदेखि विकास निर्माणसम्मको विषयमा सरकार निष्क्रिय रहेको उनको भनाइ थियो ।
महामन्त्री थापाले सरकार सञ्चालनमा विचौलियाहरूको हस्तक्षेप भएको भन्दै 'विचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म पुगेको' टिप्पणी गर्दै गम्भीर आरोप लगाएका छन् । निजी क्षेत्र र विचौलिया फरक भए पनि तिनको प्रभावले अर्थतन्त्रमा समस्या उत्पन्न भएको उनको तर्क छ ।
थापाले सरकारद्वारा गठित संयन्त्रको सुझावसम्म कार्यान्वयन नगरेको गुनासो गर्दै, 'बिँड तातेर केही नहुँदो रहेछ, ताप्केपनि तात्नुपर्ने रहेछ,' भनेर कटाक्ष गरेका थिए ।
नेपाली विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक हटाउने निर्णय, प्रधानमन्त्रीको कार्यक्रमप्रतिको मोह र शिक्षक आन्दोलनप्रति सरकारको बेवास्ताले पनि उनी असन्तुष्ट भएको जनाएका छन् ।
थापाले आफूलाई अहिलेको प्रधानमन्त्रीभन्दा राम्रो काम गर्न सक्ने क्षमता भएको दाबी गर्दै, प्रधानमन्त्रीमा नियुक्त भए आजै देखाएर छाड्ने विश्वास व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्ध अख्तियार वा विशेष आयोगमार्फत गहिरो छानबिन गर्नुपर्ने धारणा राख्दै २०८४ भित्रमा भ्रष्टाचारमुक्त नेपाल बनाउने लक्ष्य उनले राखेका छन् ।
तर, सभापति देउवा भने सरकारको कार्यशैलीबाट सन्तुष्ट देखिन्छन् । प्रधानमन्त्री ओलीसँगको पुरानो मित्रताको कारण उनले सरकारलाई पूर्ण समर्थन जनाइरहेका छन् । यसले थापाको आलोचना पार्टीभित्रै सीमित बन्न पुगेको देखिन्छ ।