२५ करोडका मालिक र चालकविरुद्द अभियोगपत्र दर्ता, कहाँ छन् नारायण पौडेल ?

काठमाडौं । केही समयअघि २५ करोड रुपैयाँबराबरका विदेशी मुद्रा तस्करीमा संलग्न दुई जनाविरुद्द अभियोगपत्र दर्ता भएको छ । काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा संलग्न रहेको भन्दै राजस्व अनुसन्धान विभागले नारायण पौडेल र चालक ट्रकका चालक कुसाङ लामाविरुद्द अभियोगपत्र दायर गरेको हो ।

उनीहरूविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गराई २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बिगो दाबी गरिएको हो । चालक लामा घटनास्थलबाटै पक्राउ परेका थिए भने मालिक भनिएका पौडेल फरार छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
काठमाडौंको टोखा नगरपालिकामा पर्ने झोरबाट ठूलो परिमाणको विदेशी मुद्रासहित गए राति एक जना ट्रक चालक पक्राउ परे।

गत चैत ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ना ७ ख १६५२ को ट्रक र त्यस ट्रकभित्र लुकाएर राखेको पैसासहित चालकलाई नियन्त्रणमा लिएको थियो । ट्रकको ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित पक्राउ गरेको थियो । अहिले प्रहरीले मालिक भनिएका पौडेलको खोजी कार्य गरिरहेको छ । 

पौडेलको स्थायी घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ हो । अहिले टोखा नगरपालिका-१० महादेवटारमा बस्ने गरेका छन् । नारायणको नाम यसअघि पनि पटक-पटक रक्तचन्दन, हुन्डी र सुन तस्करीमा मुछिएको विगत भेटिन्छ ।

Share News