पिपुल्स पावरको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । पिपुल्स पावरले आज असार २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो । 

कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री पश्चात् कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो । त्यसैले असार १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।​​​​​​​​​​​​​​

हकप्रद सेयरबाट संकलित रकम पुवाखोला २ जलविद्युत आयोजना निर्माणमा बैंकबाट लिएको ऋण भुक्तानी गर्ने र बाँकी रहेको रकम पुवाखोला२ जलविद्युत आयोजना निर्माणमा भएको खर्चका लागि भुक्तानी गर्नेछ । साथै केही रकम अन्य आयोजनामा समेत लगानी गर्नेछ । 

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

Share News