काठमाडौं । तिहार नजिकिएसँगै किसानहरूले फूल टिप्न र माला बुन्नका लागि तयारी थालिसकेका छन् । नेपाल पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा सयपत्री फूलको मालाको तिहारको लागि मात्र ४० करोडको भन्दा बढी को कारोबार हुने अनुमान गरिएको छ। त्यस्तै सयपत्री फूलको वार्षिक कारोबार भने झन्डै ८३ करोड भन्दा बढी हुने गरेको छ।
एशोसिएनले यस वर्ष पनि सोही मूल्य बराबरको फूल तथा माला बिक्री हुने अनुमान गरेको छ । एशोसिएसनको अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार गत वर्षको तिहारमा ३७ कराेड रुपैयाँ बराबरकाे फूल तथा मालाको व्यावसायिक कारोबार भएकाे थियाे ।
उनका अनुसार वार्षिक फूलको व्यावसायिक कारोबार ४० करोडको भएपनि खपत भने त्योभन्दा बढी हुने गरेको छ ।
एशोसिएसनको अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अधिकांश नेपालीहरूले आफ्नो लागि आफै उत्पादन गर्छन् । उनले फूल उत्पादन नहुने कोर सहरी क्षेत्रमा मात्रै फूल तथा मालाको व्यावसायिक कारोबार हुँदै आएको छ ।
फूलको माग ४० लाख रुपैयाँको भएपनि नेपालमा ३५ लाख रुपैयाँ बराबरको मात्रै आन्तरिक उत्पादन हुने गरेको एशोसिएनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अपुग ५ लाख रुपैयाँ पनि फूल व्यवसायीबाट ल्याएर पूर्ति गर्नसक्ने उनको भनाइ छ ।
त्यस्तै, अलि बढी खपत हुने मखमली हो । एशोसिएनका अनुसार वार्षिक पाँच लाख मखमली खपत हुँदै आएको छ । नेपालबाट मखमली निर्यातसमेत हुने गरेको छ । एशोसिएनका अनुसार २ लाख रुपैयाँ बराबरको माला निर्यात हुने गरेको छ ।
मूल्य नबढ्ने
यो वर्ष फूलमालाको मूल्य नबढ्ने एशोसिएनले जनाएको छ । यसवर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ८५ रुपैयाँ र खुद्रा मूल्य १२० रुपैयाँदेखि देखि १३० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ । त्योभन्दा ठूलो मालाको भने अलि महँगो पर्न सक्छ । त्यस्तै, उपभोक्ताले मखमली ६० देखि ६५ रुपैयाँसम्म किन्न पाउने एशोसिएनले जनाएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार नेपाल फूलमा लगभग आत्मनिर्भर छ । फूलमा आत्मर्निभर हुँदै गएपछि सरकारले नै २ वर्षअघि सयपत्री फूलमा आयात प्रतिबन्ध लगाएको छ । त्यस्तै, सरकारले सयपत्री फूलमा धेरै रोगहरू फैलिएको कारण पनि सयपत्री फूल आयातमा प्रतिबन्धित लगाएको हो ।
तैपनि नेपालमा अवैधानिक माध्यमबाट सयपत्री फूल आयात हुँदै आएको छ । अध्यक्ष्य श्रेष्ठले प्रतिबन्धित सयपत्रीलाई अवैधानिक आयात हुनबाट रोक्नको लागि सबैको साथ जरुरी रहेको र त्यसमा सबैजना मिलेर लाग्नुपर्ने बताउँछन् । उनले देशलाई समृद्ध बनाउने एउटा सेक्टर फ्लोरी कल्चर भएको उल्लेख गर्दै त्यसमा सरकारले पनि विशेष मनन गर्नुपर्ने औंल्याएका छन् ।
विदेशबाट वैधानिक रूपमा सयपत्री फूल आयात गर्नुपर्ने अवस्थामा १६ किसिमको रोगहरू नभएको प्रमाणित गरेर मात्रै ल्याउन सक्ने कन्डिसन राखिएको छ । एशोसिएनका महासचिव हिरामणि शर्माले त्यस्तो कन्डिसन राखिएको भएपनि अहिलेसम्म कसैले पनि त्यसरी आपूर्ति नभएको बताए ।
‘अहिलेसम्म जति पनि विदेशबाट सयपत्री फूल आयातित भएको छ, ती सबै अवैधानिक लुकिछिपी हो,’ उनले भने, ‘यसलाई रोक्न सरकारले प्रयास गर्दा पनि सफल भएको छैन ।’
अवैधानिक सयपत्री आयातमा एशोसिएनले पनि प्रयास जारी राखेको र केही हदसम्म सफल भएको महासचिव शर्माले बताए ।
अहिले सयपत्रीमा देखिएको अपुग पनि यदि भारतबाट अवैधानिक आयात रोक्न सक्ने हो भने गाउँघरमा किसानले उत्पादन गरेको सयपत्री बजारमा ल्याएर बेच्न सकिने र यसले किसानलाई पनि आर्थिक रुपमा फाइदा पुग्ने उनको भनाइ छ ।
महानगरले भोलिदेखि नै अनुगमन गर्ने
काठमाडौं महानगरपालिकाले भोलिदेखि नै बजारमा फूल तथा मालाको अनुगमन गर्ने महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । अनुगमनको क्रममा प्रतिबन्धित लगाएको सयपत्री कतै बेचेको पाइएमा वा कोल्ड स्टोरमा राखिएको पाएमा कारबाही हुने उनको प्रतिबद्धता छ ।
‘सूचनाको आधारमा हामी अनुगमनमा खट्छौं । सुरुमा नेपाली फूल हो कि होइन भेरिफाई गर्छौं, त्यसपछि सिद गर्ने कि उठाएर लाने निर्णय लिन्छौं ।’
पाण्डे कालोबजारी व्यापारी र विचौलियाले नै गर्ने हुँदा किसान आफैले बेच्न आग्रह गर्छन् । किसानले उत्पादन गरेको फुल बिक्रीको सहजीकरणको लागि महानगरले ३२ केन्द्र तोकेको छ ।
पाण्डेले महानगरले तोकिएको ठाउँमा गएर फूल तथा माला निःशुल्क बिक्री गर्न सकिने बताए । त्यस्तै, उनले किसानलाई ढुवानीको लागि समस्या भए महानगरमा समन्वय गर्नसमेत आग्रह गरे ।
‘हामीले किसानले उत्पादन गरेको फुल बिक्रीमा सहज होस् भनेर काठमाडौंमा ३२ केन्द्र तोकेका छौं, आफूलाई पायक पर्ने ठाउँमा सम्पर्क गरी बिक्री गर्न सक्नुहन्छ । हाम्रो उद्देश्य व्यापरीले कालोबजारी गर्ने मौका नपाओस् र किसानले उचित मूल्य पाओस् भन्ने नै हो,’ पाण्डेले भने ।
प्रतिबन्धित लगाएको कुनै पनि कोल्ड स्टोरमा राखिएको छ भने महानगरले छापा मार्ने हुँदा यसमा सबै व्यवसायीलाई सतर्क हुन पनि उनले आग्रह गरे ।
त्यस्तै, पाण्डेले यसपटक पनि विगतका वर्षहरूमा झैं महानगरभित्र प्लास्टिकको फूल तथा माला बिक्री वितरण गर्न नदिने बताए ।
यदि कसैले बिक्री वितरण गरेको पाइएकोमा जफतसहित कारबाही गरिने उनले चेतावनी दिए । उनले उपभोक्तालाई स्वदेशी किसानले उत्पादन गरेको फूल तथा माला मात्रै प्रयोग गर्न आग्रह गरेका छन् ।
नेपाली फूल चिन्ने तरिका
एशोसिएनका अनुसार विदेशबाट आउने फूल एउटै धागो र एउटै साइजको हुन्छ । त्यस्तै नओइलाओस् भनेर केमिकल प्रयोग गरिएको हुन्छ । नेपाली फूल मालामा भने सानो–ठूलो मिक्स भएको हुन्छ । यसरी सजिलै विदेशी फुल पहिचान गर्न सकिन्छ ।