काठमाडौं । रुपन्देहीको सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवा सुविधाको पहुँचबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या भयावह देखिएको छ । मझगावाकी साथिया खातुनको आँखामा मोतियाबिन्दु छ । शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आयोजना गरेको शिविरमा लुम्बिनी नेत्रालयका डा. दीपेन्द्र यादवले उहाँलाई तत्काल शल्यक्रियाको सुझाव दिए ।
मोतियाबिन्दुको उपचार गाउँका विपन्नका लागि १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँको ठूलो खर्च हो, तर रोटरी क्लबले उपचार निःशुल्क गर्ने व्यवस्था गरेको थियो । तर, साथियाले शल्यक्रिया गर्न मानेनन् ।
‘श्रीमान् भए यस्तो समस्या भोग्नु पर्दैनथ्यो, तर अहिले घरमा कसैले टेर्दैनन्,’ साथियाले गुनासो गरिन् ।
साथिया समस्या मोतियाबिन्दुको मात्र थिएन, न त पैसाको अभाव नै । उनको वास्तविक समस्या थियो शल्यक्रियापछिको हेरचाह र स्याहार दिने कोही नहुनुको एक्लोपन । यो मर्मस्पर्शी घटनाले देखाउँछ कि स्वास्थ्य सेवामा पहुँच पुर्याउनु मात्र पर्याप्त छैन, विशेषगरी एकल र वृद्धवृद्धाका लागि उपचारपछिको सामाजिक तथा भावनात्मक साथ पनि उत्तिकै महत्त्वपूर्ण छ ।
साथियाको समस्या त एउटा प्रतिनिधिमूलक घटनामात्र हो । आँखाकै भयावह समस्या लिएर बाँचिरहेका यस्ता धेरै बिरामी मर्चवारमा रहेका भेटिए । डा. यादवका अनुसार मर्चवार क्षेत्रमा स्वास्थ्य समस्याको विकराल रूप देखिएको छ । शिविरमा आएकामध्ये ९० प्रतिशतभन्दा बढी बिरामीमा मोतियाबिन्दु र केहीमा टेरिजियम (मासु पलाउने) समस्या पाइएको छ । शिविरमा ६ सय जनाभन्दा बढीले आँखा जाँच गराएका छन् । जसमा अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको छ ।
सदरमुकाम भैरहवामै लुम्बिनी रण अम्बिका आँखा अस्पताल, लुम्बिनी नेत्रालयलगायत आधा दर्जन बढी सुविधासम्पन्न आँखा अस्पताल छन् । जहाँ बर्सेनि हजारौं बिरामीले उपचार पाइरहेका छन् । तर सदरमुकाम नजिकै रहेको मर्चवारमा यत्रो मोतियाबिन्दुको समस्या हुँदा पनि सरोकारवालाको ध्यान पुग्नसकेको छैन । यसमा डा यादव मोतियाबिन्दुको उपचार खर्च १०/१५ हजार रुपैयाँ पर्ने र गाउँलेका लागि ठूलो रकम हुने हुँदा उनीहरू निःशुल्क शिविरको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । यससँगै दुर्गम क्षेत्र र खराब सडकका कारण गाउँका मानिस मुख्य स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्नु पनि एउटा कारण हो ।
डा यादवले मोतियाबिन्दु ५० देखि ६० वर्ष उमेर समूहमा बढी देखिएको र ५५ वर्षभन्दा माथिका बिरामीलाई शल्यक्रिया अनिवार्य रहेको बताए । महिलामा भने यो समस्या अलि बढी देखिएको छ । यस क्षेत्रमा मोतियाबिन्दुका बिरामी धेरै हुनुको मुख्य कारण उचित स्क्रिनिङको कमी रहेको डा. यादवको भनाइ छ ।
‘यो समस्या कम गर्न माथिल्लो तहबाट उचित स्क्रिनिङ हुनुपर्छ । सुरुमा चश्माले काम गर्न सक्ने भए पनि यसको स्थायी उपचार भनेको लेन्स प्रत्यारोपण गरी मोतियाबिन्दुलाई निको पार्नु नै हो,’ उनले भने ।
लुम्बिनी नेत्रालयकै अर्का डा हीरा शाहका अनुसार लुम्बिनी प्रदेशमै मात्र ३० हजार बढी बिरामीमा मोतियाबिन्दुको समस्या देखिएको छ । अझ प्रदेशमा पनि रुपन्देही जिल्लाको लुम्बिनी र मर्चवार आसपासका क्षेत्रमा यो समस्या अझै भयावह देखिएका उनको भनाइ छ । उमेर बढ्दै जाँदा यो समस्या देखिने भएकाले मोतियाबिन्दुलाई निर्मूल पार्न गाह्रो भए पनि सचेतना र परीक्षणमार्फत यसको न्यूनीकरण गर्न सकिने शाहको दाबी छ ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले आफ्नो क्लबले १०औँ स्थापना दिवस पारेर यो कार्यक्रम गरेको बताए । उनले आफू अध्यक्ष भएपछि नै यस क्षेत्रमा २५० जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्य लिएको बताए । मर्चवार क्षेत्रलाई बजार नजिकै भएर पनि सुविधा नपुगेको विकट ठाउँ भएकाले छनोट गरिएको उनको भनाइ छ । तर अहिलेको कार्यक्रम हेर्दा एउटै क्षेत्रबाटै २५० भन्दा बढी व्यक्ति मोतियाबिन्दुको समस्याबाट पीडित देखिएका उनको भनाइ छ ।
अध्यक्ष शर्माले यस समस्याको विकरालतालाई जोड दिँदै सरकारको पनि तत्काल ध्यान जान आवश्यक रहेको बताए । रोटरी क्लबले पहिले पोलियो उन्मूलनलाई प्राथमिकता दिएकामा अब मोतियाबिन्दु निवारणलाई लक्षित गरेको उनको भनाइ छ ।
‘शिविरमा धेरै व्यक्तिको उपचार गर्नु भनेको उनीहरूलाई नयाँ जीवन दिनु हो । मोतियाबिन्दुले पीडित र आर्थिक रूपमा कमजोर व्यक्तिका लागि यहाँ निःशुल्क सेवा उपलब्ध भएकाले धेरैले उपचार गराउने अवसर पाएका छन् । पहिले अज्ञानता वा टाढाका कारण उपचारबाट वञ्चित भएकालाई यो शिविरले ठूलो सहयोग पुर्याएको छ,’ समाजसेवी रामगणेश पालले भने ।