काठमाडौं । नेकपा एमालेको आगामी ११ औं महाधिवेशनमा १५ सदस्यीय केन्द्रीय पदाधिकारी निर्वाचनमा लुम्बिनी प्रदेशको बाहुल्यता देखिने भएको छ ।
प्रारम्भिक विवरणअनुसार पदाधिकारीका उम्मेदवारमध्ये नौजना लुम्बिनी प्रदेशका नेताहरू हुने जनाइएको छ । यसले प्रदेशको राजनीतिक शक्ति मात्र नभई पार्टीभित्रको भू–राजनीतिक सन्तुलनमा पनि लुम्बिनी प्रदेशको भूमिका बढ्ने संकेत गरेको नेताहरूले बताएका छन् ।
हालका पदाधिकारीमध्ये उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्माले फेरि पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।
तर, उपाध्यक्ष ज्ञवालीले दोहोरिने चाहना नरहेको आफू निकटलाई बताउने गरेको बताइएको छ । त्यस्तै, सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कारण सक्रिय उम्मेदवारी दिन असमर्थ छन् ।
पार्टी भित्रको वर्तमान १९ सदस्यीय पदाधिकारी संरचनामा लुम्बिनी प्रदेशका सात जना नेता रहेका छन् । तीमध्ये पाँच जना पदाधिकारी एक तह बढुवा भई फेरि उम्मेदवार बन्ने इच्छामा रहेका छन् । महासचिव पोखरेलले महासचिव पदमा दोहोरिने चाहना राखेका छन् ।
तर, पार्टी नेतृत्वले रणनीतिक दृष्टिकोण अपनाउँदै पोखरेललाई उपाध्यक्षमा स्थानान्तरण गर्ने र महासचिव पदमा उपमहासचिव प्रदिप ज्ञवालीलाई प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ ।
हालका सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्माले उपमहासचिव बन्ने इच्छा व्यक्त गरेको स्रोतले बतायो । यसले पदाधिकारीहरूको स्थानान्तरण र पद सन्तुलनमा थप बहस र छलफलको सम्भावना सिर्जना गरेको नेताहरूको भनाइ छ।
यसैबीच यसपटक केही नयाँ नामहरूले पनि पदाधिकारीमा सक्रियता देखाएका छन् । खिमलाल भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्री र सूर्य थापाले सचिव पदमा डेब्यु गर्ने इच्छा व्यक्त गरेका छन् । भट्टराई, गैरे र झाँक्री अनेरास्ववियुका पूर्व अध्यक्षहरू हुन् । थापा प्युठानका निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।
प्रदेशबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेताहरूको प्रवेशले पार्टीमा नयाँ ऊर्जा थप्ने र प्रतिनिधित्वको दायरा फराकिलो बनाउने अपेक्षा गरेका छन् ।
राजनीतिक विश्लेषकहरूले नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टीभित्रका अनुभवी नेताहरूको दोहोरिने चाहना र नयाँ नेताहरूको प्रवेशले पुराना र नयाँ नेताबीचको सन्तुलन परीक्षण गर्ने अवसर प्रदान गर्ने सम्भावना रहेको बताएका छन् । यसले पार्टीभित्र नयाँ सोच र नेतृत्व विकासलाई बलियो बनाउने संकेत गरेको एकजना महाधिवेशन प्रतिनिधिले बताए ।
सचिव पदमा नयाँ उम्मेदवारहरूको प्रवेशले पार्टीभित्रको नेतृत्व संरचनामा विविधता ल्याउनेछ । भट्टराई, गैरे, झाँक्री र थापाको डेब्युको योजनाले कार्यकर्ताहरूमा उत्साह सिर्जना गरेको एक महाधिवेशन प्रतिनिधिले बताए ।
उनका अनुसार यो नयाँ नेतृत्व विकासको संकेत हो । नयाँ नेताको प्रवेशले पार्टीको निर्णय प्रक्रिया र रणनीतिमा पनि नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको गुल्मीका एक महाधिवेशन प्रतिनिधिले जानकारी दिए ।
हालका पदाधिकारीहरूको दोहोरिने चाहना र नयाँ नेताहरूको प्रवेशबीचको सन्तुलनले आगामी महाधिवेशनलाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ । पार्टीभित्रका वरिष्ठ नेताहरूले आफ्नो अनुभवका आधारमा उम्मेदवारी दिने तयारी गरेका छन् । नयाँ नेताहरूले पार्टीमा आफ्नो उपस्थिति दर्ज गराउने र भविष्यमा शीर्ष नेतृत्वको दाबीको सोंच बनाएको बताएका छन् ।
समग्रमा आगामी महाधिवेशनले लुम्बिनी प्रदेशको प्रभुत्व पुष्टि गर्ने मात्र होइन, पार्टीको नेतृत्व संरचनामा नयाँ र पुराना नेताबीचको सन्तुलन परीक्षण गर्ने अवसर पनि प्रदान गर्ने एक नेताले बताए ।