प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि सर्वोच्चमा

काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै नेपाली कांग्रेस पनि पुनःस्थापनाको मागसहित सर्वोच्च अदालत गएको छ । 

कांग्रेसले दर्ता प्रक्रियादेखि कानुनी तयारीसम्मको सम्पूर्ण संयोजन पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई जिम्मा दिएको थियो ।

सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तापछि कांग्रेसले एमालेकै लाइनमा उभिँदै प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा दायर गरेको हो । 

कांग्रेसको यो कदमलाई राजनीतिक तहमा महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । विशेषगरी हालको सत्ता समीकरणको बीचमा दुवै ठूला दल समान माग लिएर न्यायालयको ढोका पुगेका छन् ।

कांग्रेसको रिटमा प्रधानमन्त्रीको सिफारिसमा गरिएको विघटन संवैधानिक प्रावधान, विधिको शासन र लोकतान्त्रिक अभ्यासविपरीत रहेको दाबी गरिएको छ । कांग्रेसले संसद् विघटनको निर्णयले प्रतिनिधित्वको अधिकार खोसिएको जिकिर गरेको छ ।

रिट दायरसँगै पुनःस्थापनाको मुद्दा फेरि एकपटक राजनीतिक र न्यायिक बहसको केन्द्रबिन्दु बनेको छ ।

Share News