काठमाडौं । नागढुंगा-मुग्लिन सडक आयोजनाले निर्माण कार्यलाई तीव्रता दिन सडकमा सवारी आवागमनमा रोक लगाउने भएको छ । आयोजनाले सूचना जारी गर्दै आगामी मंसिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक ५ घण्टा सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी गरेको हो ।
आयोजनाका अनुसार बिहान साढे १० बजेदेखि बेलुका साढे ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर निर्माण कार्य अघि बढाइनेछ ।
अत्यधिक सवारी चापका कारण काम गर्न नसकिएको भन्दै निर्माण कम्पनीले गुनासो गरेपछि आयोजनाले बाटो बन्द गर्ने बोल्ड निर्णय गरेको हो ।
विशेषगरी नागढुंगादेखि पिप्लामोडसम्मको खण्ड अत्यन्त साँघुरो भएकाले कालोपत्रे गर्न र भारी उपकरण परिचालन गर्न गाडी रोक्नै पर्ने बाध्यता सिर्जना भएको आयोजनाले जनाएको छ ।
यसैगरी, धादिङको गल्छी–गजुरी खण्ड अन्तर्गत पर्ने जोखिमपूर्ण पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक चौडा बनाउनुपर्ने भएकाले पनि सवारी रोक्नुपरेको हो ।
आयोजनाले यात्रुहरूलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै तोकिएको समय अगाडि वा पछाडि यात्रा गर्न अनुरोध गरेको छ । यो एक साताको बन्दले सडकको स्तरोन्नतिमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।