अटिजम सचेतनाको एजेन्डासहित कविता ढकाल ‘मिसेस भोग नेपाल सिजन ३’ को फाइनलमा

काठमाडौं । कमलामाई नगरपालिका-१३, सिन्धुली स्थायी घर भई हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएकी कविता ढकाल यतिबेला मिसेस भोग नेपाल सिजन ३ मा कन्टेस्टेन्ट नम्बर ५ का रूपमा प्रतिस्पर्धा गरिरहेकी छन् । सगुन ज्वेलर्स प्रस्तुतकर्ता रहेको उक्त प्रतियोगिता हाउस अफ फेसन नेपालले आयोजना गर्दै आएको हो । 

विवाहित महिलालाई आफ्नो क्षमता, प्रतिभा र व्यक्तित्व प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको मिसेस भोग नेपालमा यस वर्ष भौतिक तथा अनलाइन अडिसनमार्फत सयौं सहभागीमध्येबाट छनोट भएका २२ जना टप फाइनलिस्ट प्रतिस्पर्धामा छन् । तीमध्ये कविता ढकाल बहुआयामिक प्रतिभा, सामाजिक प्रतिबद्धता र आत्मविश्वासका कारण उल्लेखनीय प्रतिस्पर्धीका रूपमा हेरिएकी छन् । 

प्रतियोगितामा सहभागी हुनुको उनको मुख्य उद्देश्य अटिजम भएका बालबालिकाको अधिकार र भविष्य सुनिश्चितताका विषयलाई उठाउनु रहेको छ । उनले सरकारबाट अटिजम भएका बालबालिकाको भविष्य सुरक्षित हुने ग्यारेन्टी हुनुपर्ने, सबै विद्यालयमा समान अवसर उपलब्ध गराइनुपर्ने र समाजमा उनीहरूलाई अन्य बालबालिकासरह व्यवहार गरिनुपर्ने माग अघि सारेकी छन् । 

अटिजम क्षेत्रमा सक्रिय रहँदै आएकी ढकाल प्रतियोगितामा सहभागी हुनु अघि हाडिगाउँस्थित अभानी फाउन्डेशन मा प्रशासन प्रमुखका रूपमा कार्यरत थिइन् । संस्थामा उनले व्यवस्थापन, अनुगमन तथा अभिभावक परामर्श (प्यारेन्ट्स काउन्सिलिङ) लगायतका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । प्रतियोगिताको तयारीका कारण केही समय नियमित कार्यबाट विश्राम लिएको भए पनि सामाजिक सेवाप्रतिको उनको प्रतिबद्धता यथावत् रहेको बताइन्छ ।

उनले व्यवहार विश्लेषणसम्बन्धी ‘अप्लाइड बिह्याबियर एनालाइसिस’ कोर्ससमेत सफलतापूर्वक पूरा गरेकी छन् । व्यवहार विश्लेषणको माध्यमबाट अटिजम भएका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उनको लक्ष्य स्पष्ट देखिन्छ ।

व्यक्तिगत विकासका विभिन्न आयाममा पनि ढकाल सक्रिय छिन् । होटल म्यानेजमेन्ट तालिम, मेकअप आर्टिस्टको औपचारिक कोर्स तथा योगा प्रशिक्षण लिएकी उनले सीप विकासलाई आत्मनिर्भरता र सशक्तीकरणसँग जोडेर हेर्ने दृष्टिकोण प्रस्तुत गरेकी छन् । उनी दैनिक रूपमा योगा, जुम्बा र जिममा सक्रिय रहँदै शारीरिक तथा मानसिक सन्तुलनलाई प्राथमिकता दिँदै आएकी छन् ।

पारिवारिक दायित्व, पेशागत व्यस्तता र सामाजिक सेवाबीच सन्तुलन कायम गर्दै उनले देखाएको आत्मविश्वास धेरै महिलाका लागि प्रेरणाको स्रोत बन्न सक्छ । उनको यात्राले सशक्तीकरण केवल शब्द नभई निरन्तर प्रयास, सिकाइ र सामाजिक जिम्मेवारीको अभ्यास भएको सन्देश दिन्छ ।

प्रतियोगिताको फाइनल कार्यक्रम फागुन १२ गते ललितपुरस्थित म्याजेस्टिक ग्राण्ड मा हुने बताइएको छ। दर्शकले इसेवा एपको ‘भोटिङ एण्ड इभेन्ट्स’ मेनुमा गएर कन्टेस्टेन्ट नम्बर ५ छनोट गरी वा मोबाइल बैंकिङ एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरेर पनि भोट गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Share News