काठमाडौं । एक वृद्धमाथि मुक्का हान्ने व्यक्ति पारस बममाथि अनुसन्धान गर्न सात दिनको म्याद थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा उनीमाथि अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले विकासन्यूजलाई जानकारी दिए।
बमले एक वृद्धमाथि कुटपीट गरेको भिडियो सामाजिक सञ्चालमा भाइरल भएको थियो । उक्त घटनाको तीव्र आलोचना भएपछि प्रहरीले उनलाई गत मंगलबार पक्राउ गरेको थियो ।
काठमाडौंको महाराजगञ्ज सडकखण्डमा बमले एक वृद्धमाथि हातपात गरेका थिए ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ ।
कानुनतः एक वर्षसम्म कैद सजाय हुने मुद्दाको किनारा प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् ।