७ महिनामा १३ अर्बका ५ हजार ८९६ ईभी भित्रिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि माघसम्म नेपालमा ५ हजार ८ सय ९६ वटा विद्युतीय गाडी (ईभी) आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार १३ अर्ब ८५ करोड १ लाख ३५ हजार रुपैयाँ बराबरका ईभी भित्रिँदा सरकारलाई ८ अर्ब ४६ करोड २६ लाख ७७ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ ।

७ महिनाको अवधिमा २ वटा ५० किलोवाट क्षमताका अन-एसेम्बल ईभी समेत आयात भएका छन् । पुस महिनासम्म ५ हजार ७३ वटा ईभी (कार, जीप र भ्यान) भित्रिएका थिए भने माघसम्म आइपुग्दा संख्या उल्लेखनीय रूपमा बढेको विभागले जनाएको छ । 

५० किलोवाटका १ हजार ९ सय ९२ वटा, ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ४०२ वटा, १०१ देखि २०० किलोवाटसम्मका ४ सय ९३ वटा तथा २०१ देखि ३०० किलोवाटसम्मका ७ वटा रहेका छन् । सबैभन्दा बढी ५१ देखि १०० किलोवाट क्षमताका ईभी लोकप्रिय देखिएका छन् । 

यसैगरी माघसम्म ५ हजार ६९ वटा तीन पाङ्ग्रे ईभी आयात भएका छन् जसको मूल्य ५१ करोड ७८ लाख १७ हजार रुपैयाँ बराबर रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा ईभीप्रति बढ्दो आकर्षण र प्रयोगसँगै आयातमा पनि तीव्र वृद्धि देखिएको छ भने अटो बजार ईभीमय भएको छ । 
 

Share News