स्ट्याण्डर्ड चार्टर्ड बैंक एशियाका कार्यकारी प्रमुखले भने–नेपालमा पुँजी र व्यवसाय वृद्धि गर्छौ

  २०७३ भदौ ७ गते ११:२३     विकासन्युज

Ajaya_scकाठमाडौं, ७ भदौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वलले नेपाल राष्ट्र बैंकले तोकेअनुसार पुँजी वृद्धि गर्ने र नेपालमा बैकिङ व्यवसाय विस्तार गर्ने बताएका छन् । दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका एशिया क्षेत्रीय प्रमुख कार्यकारी कन्वलले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवि नेपालसँग भेटमा २०७४ असार मसान्तसम्ममा तोकिएको पुँजी वृद्धि गरिने प्रतिवद्धता जनाएका छन् । उनले पुँजी वृद्धिबारे स्पष्ट मोडल छिट्टै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको संचालक समितिले बनाएर राष्ट्र बैंकसमक्ष पेस गर्ने जानकारी दिएको राष्ट्र बैंक स्रोतले बतायो ।

उनले नेपालमा लगानी विस्तारमा जोड दिने स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको नीति रहेको सन्देश छोडेर गएका छन् । पछिल्लो समयमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको वित्तीय अवस्थामा पनि सुधार आएको जानकारी दिदै उनले नेपालको लगानी अवस्था र वित्तीय बजारको बारेमा जानकारी लिएका थिए ।

‘उहाँको भ्रमणले हामीलाई उत्साहित गरेको छ, लगानी विस्तारमा जोड दिनु भएको छ’ बैंकका प्रवक्ता दिवाकर पौडेलले भने–पुँजी वृद्धिबारे हामीले यसअघि नै राष्ट्र बैंकलाई २०७४ असार मसान्तसम्म तोकिएको पुँजी पुर्याउने प्रतिवद्धता जनाएका थियौं।’ पुँजी वृद्धिको मोडालिटीबारे सञ्चालक समितिले निर्णय गर्न बाँकी नै रहेको उनले बताए ।

२०७४ असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्छ । यस बैंकको हाल चुक्ता पुँजी २ अर्ब ८१ करोड रुपैयाँ छ भने संचित कोषमा ४ अर्ब ४० करोड रुपैयाँ छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा ७५ प्रतिशत सेयर लगानी स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.