सेयर बजारमा मन्दीको संकेत, व्याजदर वृद्धि र आपूर्ति वृद्धिसँगै सेयर मूल्यमा गिरावट

  २०७३ कार्तिक ७ गते १०:४४     विकासन्युज

काठमाडौं, ७ कात्तिक । गत साता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा १ करोड ३५ लाख २२ हजार कित्ता सेयर सूचिकृत भयो, जसको अंकित मूल्य हो १ अर्ब ३५ करोड रुपैयाँ हो । नेप्सेका अनुसार एनएमबी बैंकको ९४ लाख ३१ हजार कित्ता, साङग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर ३३ लाख ७५ हजार ५६० कित्ता र रिलायवल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
chart-2
बजारमा सेयर आपूर्ति भएको बढ्दै गएको यो एउटा उदाहरण हो । अन्य तथ्याङ्कहरुले पनि बजारमा सेयर आपूर्ति निकै बढेको संकेत गर्छ ।
चालु आर्थिक वर्ष पहिलो तीन महिनामा मात्रै १० करोड कित्ता बराबरको हकप्रद सेयरलाई नेपाल धितोपत्र बोर्डले स्विकृति दिइसकेको छ ।

तीमध्ये अधिकांशले हकप्रद सेयर जारी गरिसकेका छन् । कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हिमालयन बैंकले कात्तिक २६ गतेदेखि ६४ लाख कित्ता हकप्रद सेयर हकप्रद सेयर निष्काशन गरेको छ । सिद्धार्थ बैंकले ७५ लाख ५५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । त्रिवेणी विकास बैंकले ४१ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।

अरु १४ कम्पनीले ४ अर्ब रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । देवः विकास बैंक, कैलाश विकास बैंक, कामना विकास बैंक, अपि पावर कम्पनी, नेकोे इन्स्योरेन्स लगायतका कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति मागेका हुन् ।

त्यस्तै विभिन्न १० वटा कम्पनीले ७ अर्ब ५१ करोड मूल्य बराबरको आइपिओ जारी गरि पाउँ भन्दै बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिने कम्पनीहरु मध्ये नेपाल इन्स्योरेन्स कम्पनी र नेपाल एसबिआई बैंकले फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भनेका छन् । अरुण कावेलीले ३० करोड बराबरको आइपिओ निष्काशनको अनुमति पाईसकेको छ ।

बजारमा सेयरको आपूर्ति बढेसँगै मू्ल्य घटिरहेको छ । पछिल्लो समय नेप्सेमा सूचिकृत अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले धमाधम हकप्रद सेयर घोषणादेखि निष्काशन गरिरहेका छन् ।

हकप्रद र नयाँ निश्काशन मात्र होइन, बोनस सेयरको रुपमा पनि धेरै सेयर बजारमा थपिदैछ । २८ वटा वाणिज्य बैंकले मात्र करिव २६ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछन् । राष्ट्र बैंकले तोकेअनुसार पुँजी वृद्धिको चापले गर्दा वाणिज्य बैंक मात्र होइन, विकास बैंक, माइक्रो फाइनान्स र वित्त कम्पनीहरुले पनि गत वर्षको सबै नाफा बोनस सेयरको रुपमा वितरण गर्दैछन् ।

नेप्सेमा सूचिकृत सबै बीमा कम्पनीहरु नाफामा छन् तर उनीहरुले पनि सेयरधनीलाई नगद लाभांश वितरण गर्न बीमा समितिले रोकेकोले बोनस सेयर नै वितरण गर्नुपर्ने वाध्यता छ । सूचिकृत कम्पनीहरुले गत वर्षको नाफाबाट ५० अर्ब रुपैयाँ भन्दा बढीको बोनस सेयर नेप्सेमा सूचिकृत गर्ने सम्भावना देखिएको नेप्सेका एक अधिकारीले बताए । पुँजी वृद्धिको लागि चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले अर्बौ रुपैयाँ बराबरको हकप्रद सेयर निश्काशन गर्ने निश्चित छ ।

आपूर्ति बढेकाले मात्र होइन, बैंकको व्याजदर वृद्धिले पनि सेयर बजारलाई असर गरेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर समेत बढेपछि बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरु बजारबाट बाहिरिएका छन् । त्यसको प्रभाव पनि सेयर बजारमा परेको देखिन्छ ।

यसरी बजारमा निरन्तररुपमा सेयरको आपूर्र्ति बढिरहेपछि सेयर बजारमा ओरालो लाग्न थालेको देखिन्छ । गत साता मात्र नेप्से परिसूचक ९ दशमलब २७ अंकले घटेर अन्तिम दिन १७९४ दशमलव ४७ अंकमा झरेको थियो ।

मूल्य घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । पाँच दिन खुलेको सेयर बजारमा जम्मा ३८ लाख ८८ हजार कित्ता सेयर ३ अर्ब १ करोड २८ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको हो । जबकी तीन तीन महिना अघि सातामा ६/७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुने गरेको थियो । मूल्य र कारोबार दुबै गिरावट हुनुले सेयर बजारमा मन्दीको संकेत गरेको जानकारहरु बताउँछन् ।

बजार सिद्धान्तमा माग र आपूर्तिले मूल्य श्रृंखला निर्धारण गर्छ । माग बढ्दा मूल्य बढ्छ भने आपुर्ति वृद्धि हुँदा मूल्य पनि घट्छ । अहिले सेयर बजारमा त्यहि माग र आपूर्ति श्रृंखलाको प्रभाव देखिइरहेको छ ।

अर्कोतिर बैंकको व्याजदर वृद्धिसँगै बैंकबाट ऋण लिएर सेयर कारोबार गर्ने लगानीकर्ता सेयर बजारबाट वाहिरीन थालेको अनुमान गरिएको छ । घरजग्गा कारोबार र मूल्यमा वृद्धि देखिएकोले सम्पत्ति बजारमा लगानी गरेर नाफा खोज्नेहरु सेयर बिक्री गरेर जग्गामा लगानी गर्न थालेको जानकारहरु बताउँछन् । यसले सेयर बजारमा थप गरावट आउने सम्भावना बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.