कीर्तिपुरले कर नबढाउने

  २०७७ असार ८ गते १३:२४     विकासन्युज

काठमाडाैं । कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ ।

परामर्श समितिको यही असार २ गते बसेको आकस्मिक बैठकले आगामी आव २०७७/७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको परामर्श समितिका संयोजक उपप्रमुख सरस्वती रिजालले जानकारी दिए । उनका अनुसार समितिको प्रतिवेदन असार २ गते नै नगरपालिकाका प्रमुख रमेश महर्जनलाई बुझाइएको हो ।

प्रमुखलाई प्रतिवेदन बुझाइए पनि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छैन । मङ्गलबार बस्ने कार्यपालिकाको बैठकले आर्थिक विधेयक २०७७ मा करका दरलाई चालु आवमा नबढ्ने गरी आर्थिक विधेयक स्वीकृत गर्न नगरसभालाई सिफारिस गरेको छ । नगरसभा बैठक असार १० गते हुने जनाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा रु १२ करोड राजश्व उठाउने अनुमान गरिएकामा जेठ मसान्तसम्म ८ करोड ४५ लाख रूपैयाँ मात्र राजश्व संकलन भएको उपप्रमुख रिजालले जानकारी दिए । “अनुमान गरे जति कर नउठेपछि हामीले आगामी वर्ष कर नबढाउने तर करको दायरालाई विस्तार गर्दै लैजाने तयारी गरेका हौं”, उनले भने ।

पिसिआर ल्याब स्थापना तयारी

त्रिभुवन विश्वविद्यालय परिसरमा लायन्स क्लबले स्थापना गरेको ब्लड बैंकको भवनमा नगरपालिकाले पिसिआर ल्याब स्थापनाको तयारी गरेको छ । त्रिविमा रहेको पिसिआर मेसिन प्रयोग गरी नगरपालिकाले ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता रिजालले जानकारी दिए। नेपाल सरकारको स्वीकृतिअनुसार ल्याब सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो ।

नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष २०७६ बाट नै खर्च हुने गरी आवश्यक उपकरण खरीद गरिएको नगरपालिकाले जनाएको छ । प्रयोगशाला सञ्चालनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डानुसारको बायोसेफ्टी क्याबिनेट, अटो क्लिफ मेसिन र रेफ्रिजेरेटरलगायत उपकरण खरीद गरिएको छ ।

दुई चरणमा नगरपालिकाले उक्त कोषमा १ करोड ५० लाख रूपैयाँ जम्मा गरेको छ भने सहयोगसमेत आइरहेको जनाइएको छ । कोरोनाका विषयमा नगरपालिकाबाट हुने सम्पूर्ण खर्च उक्त कोषबाट गरिँदै हुँदै आएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.