नेपाली जुत्ता घर, घाटाको व्यापार

  २०७१ मंसिर २५ गते १४:५१     विकासन्युज

तर तीन/तीन स्थानमा शाखा विस्तार गर्दै

२५ मंसिर । शिखर सु, बिएफ डियर हिल सुज, कोसेली, टाकुरा, स्काई, सफ्ट टच, लेदर विग्ंस, क्रस रोड र सु ल्यान्ड प्रतिस्पर्धी र बजारमा अग्रणी नेपाली जुत्ताका ब्रान्डहरू हुन् ।
प्रतिस्प्रर्धाकै बीचमा सहकार्य गर्ने र नेपाली जुत्ताको प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ प्रयोग गरे । सामूहिक लगानीमा ‘नेपाली जुत्ता घर’ सञ्चालनमा ल्याए, एउटै सो रुम, एउटै कर्मचारी ।
आपसमा प्रतिस्पर्धी मानिएका ब्रान्डहरूको सामूहिक आउटलेट सञ्चालनमा आयो पहिलो पटक २०६९ असोज ११ गते जमलमा । हाल काठमाडौंको जमल र महाराजगञ्जमा तथा ललितपुरको कुमारीपाटी र नमस्ते सुपरमार्केट पुल्चोकमा जुत्ता घरका शाखा छन् । कम्पनीमा २० जना कर्मचारी रहेका छन् । तर नेपाली जुत्ता घरको व्यापार राम्रो छैन ।
नमस्ते सुपरमार्केटस्थित नेपाली जुत्ता घरका इन्चार्ज सनत दासले व्यापार निराशाजनक अवस्थामा रहेको बताए । उनी भन्छन्– ‘चार बजिसक्यो, बोहोनी (पहिलो बिक्री) नै भएको छैन, दिनभर पसल कुरेर बस्दै आएको छु ।’????????????????????????????
कुमारीपाटीको आउटलेट इन्चार्ज नवीन शाहीले चाहिँ कारोबारबारे बोल्न अप्ठ्यारो माने । ‘धेरै बेचिन्छ भनौं भने त्यत्रो व्यापारको पैसा कहाँ गयो भन्ने प्रश्न आउँछ अनि थोरै बेचिन्छ भनौं भने व्यवसाय कसरी चलेको छ त भन्ने प्रश्न आउँछ,’ उनले भने । कुमारीपाटीको जुत्ता घर २०७० पुस २६ गते देखि सञ्चालनमा ल्याइएको हो ।
महाराजगञ्चको नेपाली जुत्ता घर स्थापना २०७० भदौ २५ गते सुरु गरिएको हो । त्यसको उद्घाटन नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर गुरुङले गरेका थिए । त्यहाँको इन्चार्जका रूपमा अभिषेक प्रधान खटिएका छन् । उनका अनुसार दैनिक कम्तीमा ६ जोर र बढीमा १८ जोरसम्म बिक्री हुन्छ ।
जमलस्थित नेपाली जुत्ता घरको आउटलेटमा पुग्दा त्यहाँ दुईजना ग्राहक थिए र उनीहरूले एक जोर बिएफ डियर हिल सुज र एक जोर टोम टेलर्सको पार्टी सुज खरिद गरे । उनीहरूले दुई जोर जुत्तालाई ९ हजार चार सय ९० रुपैंयाँ तिरे ।
अन्य स्थानको तुलनामा यस आउटलेटमा कारोबार राम्रो देखिन्छ । जमल आउटलेटका इन्चार्जका रुपमा योगेन्द्र न्यौपानेलाई खटाइएको छ । त्यहाँ उनीसहित अन्य दुईजना कर्मचारी काम गर्छन् । ????????????????????????????
नेपाली जुत्ता घरमा संलग्न कम्पनीहरूको बिजनेस पोलिसीको अभावमा व्यापार नबढेको निष्कर्ष नमस्ते सुपरमार्केटस्थित नेपाली जुत्ता घरका इन्चार्ज सनत दास बताउँछन् ।
नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्षसमेत रहेका नेपाली जुत्ता घरका निर्देशक होमनाथ उपाध्यायले पनि नेपाली जुत्ता घर नाफामा नभएको, त्यसको व्यवस्थापन र प्रमोसन गर्न नसकिएको बताए । तर, आफूहरू निराश नभएको र छिट्टै जुत्ता घरलाई नाफा आर्जन हुनेगरी चलाउने योजना बन्दै गरेको उनले बताए । ‘हामी छिट्टै नाफामा पुग्छौं, अब प्रमोसनमा लाग्दैछौं, यो नमुना प्रयास हो, विकास र विस्तारको योजनामा छौं,’ उनले भने ।
उपाध्यायका अनुसार नेपाली जुत्ता घर कम्पनी प्रालिले राजधानीमा अझै तीनवटा आउटलेट थप्ने योजना बनाएको छ । अति व्यस्त मानिएका चाबहिल, बानेश्वर र पुरानो बसपार्कमा नयाँ आउटलेट स्थापना गर्ने तयारी कम्पनीको छ । ‘जुत्ता घरको साझेदारहरू सबैलाई आ–आफ्नै कम्पनीको प्रमोसनमा लाग्दैमा फुर्सद छैन्,’ उनी भन्छन्, ‘अब सामूहिक योजना ल्याउँछौं, अनि व्यापार बढ्छ ।’
नेपाली जुत्ताघरमा नेपाली बजारमा ख्यातिप्राप्त एवं ब्रान्डेड जुत्ता कम्पनीहरूको सहभागिता रहेको छ, जसमा शिखर, बिएफ डियर हिल, स्काई, कोसेली, क्रसरोड, लेदर विग्स, टाकुरा, सफ्टटच र शू ल्यान्डलगायतका प्रतिष्ठित ब्रान्डका जुत्ता चप्पलहरू पाइन्छन् ।
यो प्रयास नेपालमा नवीनतम र नमुना प्रयासको रूपमा रहेको छ । यस जुत्ता घरमा सबै ब्रान्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज÷स्कुल र लेडिज सबै वर्ग, उमेर र समूहलाई हुने जुत्ता तथा चप्पलहरू बिक्री वितरणका लागि राखिएका छन् ।
जुत्ताघरको मुख्य उद्देश्य भनेको नेपाली ब्रान्डको पहिचान एवं नेपाली ब्रान्डको प्रवद्र्धन नै रहेको नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्याय बताउँछन् । ????????????????????????????
नमस्ते सुपरमार्केटले नेपाली ब्रान्डका जुत्ता तथा चप्पललाई प्राथमिकतामा राख्दै नेपाली जुत्ता घरको चेन स्टोर खोल्नलाई पहलकदमी लिएको बताइएको छ । नेपाल जुत्ता घरका निर्देशकसमेत रहेका उपाध्यायले सरकारले सरकारी पोसाकमा नेपाली कपडा नै प्रयोग गर्ने नीति अबलम्बन गर्न लागेको सन्दर्भमा छालाका जुत्ता पनि नेपाली नै प्रयोग गर्नुपर्ने नीति पारित गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.