२०७१ पुष ६ गते १३:१४ विकासन्युज
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संरचना कस्तो छ ?
विगतको आकस्मिक बीमा कोष नै अहिलेको नेपाल पुनर्बीमा कम्पनीमा रुपान्तरण भएको हो । पहिलेको भन्दा अहिलेको सरंचना केही फरक छ । आकस्मिक बीमा कोषको सञ्चालक समिति पाँच सदस्य थियो, नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा सात रहने व्यवस्था गरिएको छ । पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा दुईजना निर्जीवन बीमा कम्पनीको तर्फबाट, एकजना जीवन बीमा कम्पनीका तर्फबाट, एकजना विज्ञ र अध्यक्षसहित तीनजना सरकारले मनोनयन गर्ने व्यवस्था छ । कोषमा निर्जीवन बीमा कम्पनीहरूको मात्र लगानी र प्रतिनिधित्व थियो । पुनर्बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कम्पनीहरूलाई पनि भित्र्याइएको छ ।
यस कम्पनीमा ४३ प्रतिशत सेयर नेपाल सरकारको, ३९ प्रतिशत सेयर निर्जीवन बीमा कम्पनीको र १८ प्रतिशत सेयर जीवन बीमा कम्पनी सेयर लगानी रहने हाम्रो प्रबन्ध पत्र नियमावलीमा उल्लेख गरिएको छ । कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड भनिएको छ । आकस्मिक बीमा कोषको २०६९/७० को अन्तिमसम्मको डिडिए गर्दा यसको नेटवर्थ एक अर्ब ९६ करोड देखिएको थियो । ७०/७१ मा पनि ५० करोड नाफा हुन्छ भनेर त्यस्तो गरिएको थियो ।
४३ प्रतिशत लगानी गर्ने सरकारले अध्यक्ष पद सुरक्षित गर्नु भनेको अरू लगानीकर्ता प्रति अन्याय गर्नुभएन र ?
नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४३ प्रतिशत सेयर छ । अरू २७ कम्पनीको जम्मा ५७ प्रतिशत सेयर छ । यसरी हेर्ने हो भने सबैभन्दा ठूलो लगानी कर्ता सरकार नै हो । सरकार एक्लैको ४३ प्रतिशत र अरू २७ वटा कम्पनीको ५७ प्रतिशत सेयर भएपछि ठूलो लगानीकर्ता सरकार नै हो । त्यसैले यो ठिकै पनि हो । हामी स्थापनाकालमै छौं, सरकारबाट धेरै काम गर्नुपर्ने हुन्छ । सरकारी निकायको प्रमुख हुँदा काममा सहज हुन्छ । सरकारी प्रमुखले सहजीकरणको काम गर्छ । त्यसैले यो ठिकै पनि हो । भोलि १० अर्ब लगानी गर्ने समय आउँदा यसको संरचना नै बदलिन सक्छ । त्यतिबेला अध्यक्षको चयन पनि नयाँ बिधिबाट गर्न सकिन्छ । त्यतिबेला कुरा आउला , तर यतिबेला यो ठिक छ ।
नयाँ कम्पनीको व्यवस्थापन कसरी हुँदैछ ?
सबैभन्दा पहिले पायक ठाउँ नयाँ कार्यालय राख्न गइरहेका छौं । अहिले १०/१२ जना कर्मचारीका भरमा काम गर्दैछौं । आवश्यकताअनुसार नयाँ कर्मचारी पनि थप्छौ । कति कर्मचारी आवश्यक छ र कति राख्ने भन्ने टुंगो लगाउन बाँकी नै छ । कम्पनीलाई ब्रान्डिङ गर्नुपर्ने छ ।
पुनर्बीमा कम्पनीलाई आवश्यक दक्ष जनशक्तिको अभाव छ भनिन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ ?
नेपालमा बीमा बुझेकै मान्छेहरूको कमी भइरहँदा पुनर्बीमा कम्पनीका लागि जनशक्तिको बारेमा प्रश्न उठ्नु स्वाभाविक हो । फेरि हामी भर्खर जन्मेका छौं । यस्तो अवश्थामा दक्ष जनशक्तिको अभाव त हुनु स्वाभाविक पनि हो । तर बाहिर हल्ला गरिएअनुसार पुनर्बीमाका क्षेत्रमा काम गर्ने दक्ष मान्छे नै छैनन् भन्ने होइन । हामी आफैं पनि त्यस्तो जनशक्तिको व्यवस्था गर्न केही हदसम्म सक्षम छौं । प्रबन्ध पत्रमै विदेशी कम्पनीसँगको साझेदारीलाई पनि संकेत गरिएको छ । त्यसले पनि विदेशी कम्पनीसँगको साझेदारी तथा जनशक्ति आपूर्तिका लागि केही सहयोग गर्नेछ ।
साझेदारका रुपमा विदेशी कम्पनीलाई पनि ल्याउने तयारी हो ?
प्रबन्धपत्र नियमावलीमा विदेशी कम्पनीसँग पनि साझेदारी गर्न सकिने बाटो खुला गरिएको छ, तर अहिल्यै त्यस्तो तयारी गरिसकेको अवस्था होइन । त्यो काम सञ्चालक समितिले गर्छ । दक्ष जनशक्तिको परिपूर्तिका लागि पनि विदेशी कम्पनीसँगको साझेदारी आवश्यक देखिन्छ । तर कसैलाई बोलाई सकिएको भने पनि होइन ।
पुनर्बीमा कम्पनीको स्थापनाले राष्ट्रिय अर्थतन्त्रलाई के कस्तो फाइदा हुन्छ ?
नेपालमा अहिललेसम्म पुनर्बीमा कम्पनी थिएनन् । नेपालका २६ वटै कम्पनीले विदेशी कम्पनीसँग पुनर्बीमा गर्थे । सुरुका दिनमा पुनर्बीमाबापत विदेशिने पुनर्बीमा प्रिमियम रकमको १५/२० प्रतिशतसम्म रोक्ने र पछि सबै रोक्ने हाम्रो योजना हो । यो साल दुई अर्ब रोक्न सकियो भने अर्काे वर्ष दुई अर्ब ५० करोड रोक्न सकिन्छ । हाम्रो दीर्घकालीन सोच भनेको पुनर्बीमामार्फत विदेशिने पूरै रकम रोक्ने र विदेशी रकम पनि तान्ने हो । यसका तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने हुन्छ ।
सरकारी लगानी भएका कम्पनीहरू धेरैजसो घाटामा गएका हुन्छन्, यस कम्पनीले सेयरधनीहरूलाई कति लाभांश दिने व्यावसायिक योजना बनाएको छ ?
सेयर होल्डरले प्रतिफलको अपेक्षा गर्नु स्वाभाविक हो । हाम्रा सेयर होल्डर इन्स्योरेन्स कम्पनी छन्, जो यसका ग्राहक पनि हुन् । अर्काेतर्फ यसमा सरकारको पनि सेयर छ । हाम्रा सेयर होल्डर र ग्राहक दुवै इन्स्योरेन्स कम्पनी नै हुन् । हामी सुुरुवाती चरणमा छौं । सबै योजना बनिसकेकै छैन । तर सेयर होल्डरहरूले राम्रो प्रतिफल दिन सकिन्छ । राम्रो प्रतिफल पाइन्छ भनेर नै होला, केही विदेशी कम्पनीहरूले समेत सेयर हाल्छौं भनिरहेका छन् । भारतको जीआइसी रिइन्स्योरेन्स कम्पनीले सेयर हाल्ने इच्छा जनाइसकेको छ ।
पुनर्बीमा कम्पनीका रुपमा विदेशमा पनि बजार विस्तार गर्नुपर्ला नि ?
हामीले तीन प्रकारको योजना बनाउनुपर्छ । पहिलो दुई वर्षमा अल्पकालीन योजनासहित आन्तरिक बजार सम्हाल्ने, दोस्रो मध्यकालीन चरणमा तीन वर्षको हुनसक्छ । त्यसमा सार्क राष्ट्र र सकियो भने एसियाभर बजार विस्तार गर्ने । अनि तेस्रो चरण भनेको दीर्घकालीन योजना हो जसमा हामी विश्व बजारमा पुग्नेछौं । कम्बोडिया, भुटान, युगाण्डालगायतका देशले आन्तरिक सानो बजारकै आधारमा पनि पुनर्बीमा कम्पनी चलाइरहेका छन् । भुटानमा नन ाइफ कम्पनी एउटा र लाइफ इन्स्योरेन्स कम्पनी दुईवटा मात्रै छन् । त्यहाँ पनि पुनर्बीमा कम्पनी नाफामै चलिरहेका छन् । हामी पनि छिट्टै स्वदेशी बजार ओगटेर विदेशी बजारसम्म पुग्छौं ।
यस कम्पनीमा नेसनल र ओरियन्टलले पनि यहाँ पुनर्बीमा गर्छन् ?
बीमा पुलको काम गर्दा सँगै काम गरेका हौ । यस कम्पनीमा नेसनल र ओरियन्टल इन्स्योरेन्स कम्पनीको सेयर छ । विश्व व्यापार संगठनको सदस्यता लिइसकेपछि बाध्यात्मक व्यवस्था गर्न नमिल्ने रहेछ । ती कम्पनीहरूका पनि भारतमा पुनर्बीमा कम्पनी छन् । हामीले बाध्यात्मक अवस्था लगाउन सक्दैनौं । तर बीमा कम्पनीहरूले हामी गर्छाै भन्न सक्छन् । बीमक संघको बैठकबाटै त्यस्तो निर्णय गरेर काम अघि बढ्न सकिन्छ । यति प्रतिशत चाहिँ नेपालकै पुनर्बीमा कम्पनीलाई दिने भनेर निर्णय गराउन सकिन्छ । त्यसो हुँदा ती कम्पनीले पनि यहाँ पुनर्बीमा गराउँछन्, तर गर्नै पर्छ भनेर हामीले भन्न सक्दैनौं ।
अब बीमा पुलले गर्दैआएको काम कसले गर्छ ?
नेपाल पुनर्बीमा कम्पनीले नै गर्छ । आकस्मिक बीमा कोष नेपाल पुनर्बीमा कम्पनीको एउटा महाशाखाका रुपमा रहन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.