२०७२ वैशाख १६ गते ८:५० विकासन्युज
विकासन्युज /काठमाडौं, बैशाख १६
नेपालमा शनिबार र आईतबार गएको भूकम्पबाट पीडित भएकाहरुका लागि मलेसिया र बेल्जियममा आर्थिक संकलन अभियान सुरु गरिएको छ ।
भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई राहत, घाइतेको उपचार र घरबारविहिन भएका परिवारलाई सहयोग गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाले आर्थिक संकलन अभियान चलाएका हुन् ।
मलेसियास्थित नेपाली दूतावासले राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातको संयोजकत्वमा भूकम्प पीडित सहायता समन्वय समिति गठन गरेको छ । यस महाविपत्तिमा परेका पीडितहरुलाई सहयोग गर्न ईच्छुक व्यक्ति, संघ संस्थाहरुले दुतावासको समितिमार्फत् नेपालमा सहयोग पु¥याउन दुतावासले अनुरोध गरेको छ ।
सो समितिको सल्लाहकारमा पुत्राजय कर्पोरेसनका अध्यक्ष आसे छि मात् छन् भने सदस्यहरुमा मलेसिया नेपाल व्यापार परिषदका अध्यक्ष दातो प्रदिप कुकरेजा, पेनाङका अवैतानिक वाणिज्यदुत दतुक ह्वान चेंग जेंग, एनआरएनए मलेसियाका सभापति शंकर पौडेल, शाक्यमुनि फाउन्डेसनका लाइ सिउखी छन् । सो समितिका सदस्यसचिवमा श्रम सहचारी बुद्धिनाथ भट्टराई रहेको दुतावासले जनाएको छ ।
यसैबीच प्रवासी नेपाली मञ्च मलेसियाले तत्कालका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने र अरु सहयोग संकलनका लागि समिति गठन गरिएको जनाएको छ । गैरआवासीय नेपाली संघ मलेसियाले पनि ३ लाख ७३ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग संकलन गरिसकेको जनाइएको छ ।
त्यसैगरी एनआरएन बेल्जियमले १० लाख, एनआरएन फ्रान्सले ३ लाख र पोर्चुगलले १ लाख रुपैयाँ सहयोग गर्ने जनाएका छन् । जर्मनीमा कार्यरत नेपालीहरुले पनि १ दिनको तलबवापतको पैसा उठाउने अभियान सुरु गरिएकोे जानकारी प्राप्त भएको छ भने एनआरएन जर्मनीले पनि सहयोग रकम संकलन गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.