सहायतामा उदार बन्दै निजी क्षेत्र

  २०७२ वैशाख २० गते १४:५२     विकासन्युज

bikashnews.com

काठमाडौं । भुकम्प पीडितलाई सहायता गर्ने क्रममा निजी क्षेत्रले निकै उदारता देखाएको छ । गैर आवासीय नेपाली, नेपाली, कर्पोरट क्षेत्रले उल्लेख्य सहयोगको शुरुवात गरेका छन् ।

शनिबारसम्म गैर आवासिय नेपाली उपेन्द्र महतोले १५ करोड रकम उपलब्ध गराउने घोषणा गरेका छन् । फुलकुमारी महतो मेमोरियल ट्रस्टका अध्यक्ष महतोले ट्रस्टमार्फत राहत र विद्यालय पुनःनिर्माणमा उक्त रकम सहयोग गरिने घोषणा गर्नुभएको हो । रु तीन करोडको राहत सामग्री वितरण गरिने र रु १२ करोड भत्किएका विद्यालय भवन पुनःनिर्माणमा खर्च गरिने उनले बताए ।

प्रति पीडित परिवारलाई छ जना अटाउने पारिवारिक पाल, दुई तन्ना, म्याट्रेस, कम्बल, तकिया, बर्षादी र खाद्यान्न उपलब्ध गराइने छ । सरोकार भएका निकायसँग सल्लाह गरेर तत्कालै राहत उपलब्ध गराइने महतोले बताए ।

एनआरएनले पनि १० करोड दिने जनाएको छ । औद्योगिक घराना खेतान समूहले १० करोड दिने जनाएको छ । Rajendra_Khetan
नेपाल उद्योग बाणिज्य महासंघले पनि १० करोड नै उपलब्ध गराउने घोषणा गरेको छ । महासंघले भूकम्प पीडितलाई सहयोग गर्न अपरेसन रिलिफ कार्यक्रम सञ्चालन गरिरहेको छ । अपरेसन रिलिफ नेपालले काठमाडौंको भृकटी मण्डपमा रहेर राहत सामाग्रीहरु वितरणका कार्यहरु गरिरहेको छ । त्यसमा अत्यावश्यक खाना, औषधि र सेनिटाइजरका साथै सयौं संख्यामा स्वास्थ्य तथा स्वयंसेवकहरुलाई काठमाडौं भित्र तथा बहिरका भुकम्प प्रभावित क्षेत्रमा परिचालन गरिरहेको छ।

व्यवसायी अजय सुमार्गीले पनि पाँच करोड दिने घोषणा गरिसकेका छन् । कर्मचारी सञ्चय कोष र ग्लोबल आईएमइ समुहले दुई दुई करोड दिने भएका छन् भने प्रभु समूहले पनि एक करोडको सहयोग प्रतिवद्धता व्यक्त गरेको छ ।
नेपाल बैँक लिमिटेडले बैशाख १२ गते नेपालमा गएको विनाशकारी महाभूकम्पको महाविपत्तीबाट प्रभावित भएका व्यक्तिहरुलाई उद्धार तथा राहत सुविधा उपलब्ध गराउन प्रधानमन्त्री दैविप्रकोप उद्धार तथा राहत कोषमा सहयोग स्वरुप १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल रत्न तथा आभुषण संघले १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणासहित सहायता कोष खडा गरेको छ । त्यस्तै, चौधरी ग्रुपले विभिन्न स्थानमा राहत सामग्री प्रदान गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानमा शिविर खडा गरेर भूकम्पपीडितलाई सघाउँदै आएकोे ग्रुपले राहत सामग्री वितरणमा आफूलाई केन्द्रित गरेर सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, काभ्रे, भक्तपुरलगायत प्रभावित क्षेत्रमा खाद्यान्न र त्रिपाल वितरण गरिरहेको जनाएको छ ।

पहिलो चरणमा उक्त ग्रुपले खाद्यान्न, त्रिपाल, स्वास्थ्य सेवा प्रदान गरिरहेको, दोस्रो चरणमा पीडितहरूलाई व्यवस्थित आवासमा पुनःस्थापना गर्ने योजना बनाएका जनाउँदै ग्रुपले आज जारी गरेको प्रेस विज्ञप्तिमा चौधरी ग्रुपका स्कुलकलेज र अरू भवनलाई आवासका रूपमा पीडितलाई प्रयोग गर्न दिइने उल्लेख छ ।

दर्जनौं संघ संस्थाहरुले एक लाखदेखि एक करोडसम्मको आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता गर्ने क्रम पनि जारी नै छ ।

सरकारले प्रधानमन्त्री दैविप्रकोप उद्धार तथा राहात कोष मार्फत एकद्धार प्रणालीबाट सहयोग रकम परिचालन गर्ने घोषणा गरिसकेको छ । सहयोग रकमको दुरुपयोग रोक्नका लागि सरकारले एकद्धार नीति लिएको दावी गरेको छ तर निजी क्षेत्रले पनि आफूहरु माथि शंका गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.