२०७२ जेठ २० गते १८:४३ विकासन्युज
चरीकोट, २० जेठ । त्यसबेला समाजमा पढ्नुपर्छ भन्ने सोच थिएन । विद्यालय खोल्न पैसा हुँदैनथ्यो । छिमेकी भारतबाट आएका एक योगीले विद्यालय खोल्न सुझाव दिएपछि सुस्पा क्षमावतीका गाउँलेकोे श्रमबाट कठिनाइका साथ मुलुकमा प्रजातन्त्र आउनुअघि विसं २००५ मा विद्यालय बनाए । त्यो इतिहास बोकेको सुस्पा क्षमावती माध्यमिक विद्यालय अहिले माटोमा मिसिएको छ ।
गत वैशाख १२ को विनाशकारी भूकम्पका कारण क्षतविक्षत सो विद्यालय दोलखाको मात्र नभई जनकपुर अञ्चलकै पहिलो विद्यालय हो । सरकारले यही जेठ १७ बाट विद्यालय सञ्चाल गराउने निर्णय गरे पनि सो विद्यालयमा कसरी पढाइ सञ्चालन गर्ने भन्ने चिन्ता देखिन्छ ।
प्रधानाध्यापक मुकुन्दराज शिवाकोटीका अनुसार विद्यालयका कुल आठ भवनमध्ये सातवटामा पूर्ण क्षति भएको छ भने अन्य भौतिक सामग्री पनि प्रयोग गर्न नमिल्ने भएको छ । “गरिब जनताको पसिनाले बनेकोे विद्यालय भवन, भूकम्पले ध्वस्त पा¥यो”, प्रधानाध्यापक शिवाकोटीले भन्छन्, “धन्न प्रकृतिले विचार गरेर प्रहार ग¥यो, शनिबार नपरेको भए नत्र डरलाग्दो मानवीय क्षति हुन्थ्यो, जीवन रक्षा ठूलो कुरा हो, भौतिक संरचना त पछि पनि बनाउन सकिन्छ ।”
सो गाउँको धार्मिकस्थल कुटीमा (खप्तड बाबाले ध्यान गरेर बसेको स्थान) ध्यान गर्न आएका शान्तनन्द योगीले विद्यालय स्थापनामा प्रेरक भूमिका निर्वाह गरेका थिए । त्यसबेला टहराबाट सुरु भएको विद्यालय अहिले पुनः सोही हैसियतमा आइपुगेको छ । विद्यालयले २०१६ सालमा भवन बनाएको थियो भने २०६३ सालमा उच्च माविको अनुमति लिएको थियो ।
विद्यालयमा भूकम्प प्रविधियुक्त नयाँ छात्राबासबाहेक अन्य सबै भवन, जमिन र खेल मैदानसमेत चर्किएका छन् । प्रधानाध्यापक शिवाकोटीका अनुसार रु एक करोडबराबरको क्षति भोगेको सो विद्यालयले स्थानीय काठपात र स्रोत साधनको प्रयोग गरी पठनपाठन सुरु गर्ने तयारी गरेको छ । वर्षा र हावाहुरीले पठनपाठन अस्तव्यस्त हुने भएकाले पालभन्दा जस्ताको अस्थायी टहरा बनाएर बस्दा राम्रो हुने विद्यालयका अभिभावक तथा शिक्षक गङ्गाप्रसाद पाठकको ठम्याइ छ । सो उच्च मावि (दशजोड दुई) समेत गरी ५०० विद्यार्थीे विद्यालयमा अध्ययनरत छन् ।
अरू कुनै विद्यालय नभएको अवस्थामा जिल्लाभरिका व्यक्ति त्यसबेला पीठो र चामल लिएर विद्यालयकै छात्राबासमा बसेर पढ्थे । विद्यालयमा पढेका विद्यार्थी सरकारी र निजी क्षेत्रका माथिल्लो ओहोदामा पुगिसकेका छन् ।
श्रम तथा यातायात मन्त्रालयका सचिव भोला शिवाकोटी, द्वन्द्वविद् डा विष्णु उप्रेती, जापानका लागि पूर्व नेपाली राजदूत डा विष्णुहरि नेपाल, म्यानमारका लागि नेपाली राजदूत गुणलक्ष्मी शर्मा (विश्वकर्मा), पुनरावेदन अदालतका पूर्व रजिस्ट्रार शेषराज शिवाकोटी, वरिष्ठ पत्रकार गोपाल थपलिया, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त वेदप्रसाद शिवाकोटीलगायत छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालका परराष्ट्र मामिला सल्लाहकार मिलन तुलाधर पनि उक्त विद्यालयका पूर्व प्रधानाध्यापकसमेत हुन् ।
विद्यालय पुनःनिर्माणका लागि उहाँहरुबाट पनि योगदान हुने विद्यालयले अपेक्षा राखेको छ । अहिले पनि त्यो उच्च माविको विकासका लागि उहाँहरुले कम्प्युटर, आधुनिक विद्यालय भवन निर्माणमा सहयोग गर्दै आउनुभएको थियो । भूकम्पले विनाश गरेपछि पनि उहाँहरुले विभिन्न दातृ निकायसँग परामर्श गरी भूकम्प प्रविधियुक्त भवन निर्माण गर्ने वचन दिनुभएको छ ।
बारम्बारको धक्का र विद्यालय सञ्चालनको स्थिति
दोलखाको पहिलो विद्यालय सुस्पा क्षमावती विद्यालय जस्तै दोलखाका धेरै सामुदायिक र निजी विद्यालय क्षतिग्रस्त अवस्थामा छन् । पूर्ण क्षति भएको र दोलखा केन्द्र भएर बारम्बार भूकम्पको धक्का गइरहने भएकाले भत्किएका संरचना पन्छाउने अवस्था पनि छैन । त्यसले गर्दा अस्थायी टहरा निर्माण गरी पढाइ सुचारु गर्ने तयारी भइरहेको छ ।
दुःखले स्थापना गरेका विद्यालय भूकम्पको एकै धक्काले ध्वस्त पारेपछि शिक्षक, विद्यार्थी र अभिभावक आफ्नो बासको व्यवस्था गर्ने कि विद्यालयको अस्थायी टहरा बनाउने भन्ने चिन्तामा छन् । मकैबारी स्रोत केन्द्रका स्रोत व्यक्ति जनककुमार राईले बताए । “जस्ताको छानो भएको एकतले विद्यालय भवन कुनै कुनै सुरक्षित भए पनि अधिकांश विद्यालय भवन पूर्णरुपमा नष्ट भएका छन्, वर्षा, हावाहुरीको समय भएकाले पालमा विद्यार्थी राखेर पढाउने अवस्था छैन, अस्थायी जस्ताकै टहरो बनाएर अध्ययन सुरु गर्न पनि कठिनाइ छ ।”
जिल्लाका गौरीशङ्कर गाविस, लामाबगरलगायतका पाँच÷सात विद्यालयमा हेलिकप्टरबाट जानुपर्ने भएकाले तत्काल विद्यालय खोल्ने अवस्था छैन । जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले एक हप्ताभित्र गौरीशङ्कर र लामाबगरका विद्यालय पनि सुचारु गर्ने बताए । “भूकम्पले पूर्णरुपमा क्षति भएका भवनमा पढाउन सक्ने अवस्था नभएकाले जतिसक्दो छिटोजस्ता र बाँसको अस्थायी टहरा बनाएर अध्ययन सुचारु गरेका छाँै”, उनले थप ।
शिक्षा विभागको तथ्याङ्कअनुसार जिल्लामा कुल ३९६ विद्यालय छन् भने ८६५ विद्यालय भवन छन् । त्यसमा ३६३ विद्यालय भवन प्रभावित छन् । भूकम्पमा परी पाँचजना विद्यार्थीको मृत्यु भएको छ । यसमा पूर्ण क्षतिग्रस्त कक्षाकोठा एक हजार ६३२ छन् । जिल्ला शिक्षा कार्यालयको भवनसमेत क्षतिग्रस्त भएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.