सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले वृद्धि, सेयरधनीले २२ प्रतिशत लाभांश पाउने सम्भावना

  २०७२ साउन ६ गते ८:४७     विकासन्युज

काठमाडौं, ६ असार । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफा ४५ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०७१/७२ मा ७२ करोड ३८ लाख ९० हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आर्थिक वर्ष २०७०/७१ मा ४९ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो । देशको आर्थिक वृद्धिदर ३ प्रतिशत रहेको समयमा कम्पनीको नाफा वृद्धि ४५ प्रतिशत रहनु उच्चस्तरको हो ।
citizen_bank
गत वर्षको नाफा बाट बैंकले सेयरधनीलाई २२ प्रतिशतसम्म लाभांश दिन सक्छ । बैंकले क्यापिटल रिजर्भमा रहेको १३ करोड रुपैयाँको बोनस सेयर वितरण गर्ने निर्णय लिएको अवस्थामा २२ प्रतिशतभन्दा पनि बढी लाभांश दिन सक्छ । यस बैंकले कम्तिमा २० प्रतिशत लाभांश दिने सम्भावना देखिएको छ ।

क्यापिटल एडेक्वेसी करिव १२ प्रतिशत रहेको र पुँजी वृद्धि गर्दै जाने नीति रहेकोले बैंकले आगामी साधारणसभामा बोनस सेयरको प्रस्ताव लैजाने छ । विगतमा पनि दशैंअघि नै साधारणसभा गर्ने अभ्यास भएकोले आगामी दशैंअघि नै साधारणसभा गर्ने बैंकको तयारी भईरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

बैंकले प्रकाशित गरेको रिपोर्टमा प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३४ पैसा रहेको उल्लेख छ । यस बैंकको सेयरपुँजी २ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ छ । सेयरको नेटवर्थ १४७ रुपैयाँ छ भने असार मसान्तमा यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँमा कारोबार भएको छ ।

गत वर्ष बैंकको व्यवसाय विस्तार पनि राम्रो छ । निक्षेप २७ अर्बबाट ३५ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा २३ अर्बबाट २९ अर्ब र लगानी २ अर्बबाट विस्तार गरी ५ अर्ब रुपैयाँ पुर्याएको छ । परिणाम सञ्चालन नाफा ४१ करोडबाट ८१ करोड रुपैयाँ भएको छ । बैंकको खराव कर्जा ३.४० प्रतिशतबाट १.५३ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.