२०७२ असोज २४ गते १४:२८ विकासन्युज
काठमाडौं, २४ असोज । मुलुकको ३८ औं प्रधानमन्त्री चयन गर्न जारी व्यवस्थापिका संसदको बैठकमा केपी ओलीदेखि प्रचण्ड र कमल थापासम्मले भावुक सम्बोधन गर्दै राष्ट्रियता र लोकतन्त्रका पक्षमा उभिने प्रतिज्ञा गरेका छन् । तीनै जना नेताहरुले मुलुक गम्भिर चुनौतीपूर्ण अवस्थामा पुगेको बताउँदै राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि एक ठाउँमा उभिने प्रतिज्ञा समेत गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले सिंहदरबारमा फोटो झुठ्याउने उदेश्यले उम्मेदवार नबनेको बताए भने प्रचण्डले काँग्रेसले विपीको बाटो छाडेर मात्रिकाको बाटो अंगालेको बताए । उता, कमल थापाले देश गम्भिर संकटमा परेकाले केपी ओलीलाई सहयोग गरेको बताए ।
मलाई भोट हाल्नेले पश्चाताप गर्नु पर्दैनः केपी ओली
एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीले काँग्रेस सभापति सुशिल कोइरालालाई उम्मेदवारी फिर्ता दिन आग्रह गरे ।
संसदमा आफ्नो उम्मेदवारीबारे बोल्दै उनले काँग्रेसकै नेताहरु, सांसद र जनताको आकांक्षा अनुसार उम्मेदवारी फिर्ता लिएर सहमति र सहकार्यको यात्रामा सरिक हुन अनुरोध गरेका हुन् ।
ओलीले नयाँ संबिधान कार्यान्वयन र विकास तथा समृद्धिको बाटोमा अघि बढ्न काँग्रेसँगको सहकार्य जारी रहने उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
देशभर आफ्ना बारेमा भ्रम फैलाईएको बताउँदै ओलीले व्यवहारिक रुपमा आफुमाथी लागेको आरोप चिर्ने बताए ।
आफुले सिंहदरबारमा फोटो झुण्ठ्याउन आफुले उम्मेदवारी नदिएको उनले दावी गरेका छन् । देशका लागि केहि गरौं र छिमेकीसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन आफुले उम्मेदवारी दिएको ओलीको स्पष्टोक्ति दिएका छन् ।
आफु तराई मधेश वा अन्य कुनै पनि क्षेत्रका जनताको बिरोधी नभएको र सबै समस्याहरु वार्ता र सम्वादका माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
ओलीले भूकम्पपछि आक्रान्त बनेको मुलुकलाई पूननिर्माणको बाटोमा अघि बढाउने पनि बताए ।
उनले आफ्नो पक्षमा मतदान गर्नेहरुलाई पश्चाताप गर्ने अवसर नदिने दावी पनि गरेका छन् । आफुलाई मतदान नगर्नेहरुले भोली केपी ओलीलाई किन मतदान नगरेको भनेर कुरीकुरी लाग्ने पनि बताए ।
काँग्रेसले धोका दियो, गद्धारी गर्योः प्रचण्ड
एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्व सहमति विपरिद काँग्रेसले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर मुलुक र जनताप्रति गद्धारी गरेको आरोप लगाए ।
संसदमा एमाले अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीको प्रस्तावमा आफ्ना भनाई राख्दै उनले नयाँ संबिधान जारी गरेपछि एमाले नेतृत्वमा राष्ट्रिय सहमितको सरकार गठन गर्ने सहमति उल्टाएर काँग्रेसले जनतालाई धोका दिएको आरोप लगाएका हुन् ।
काँग्रेसले विपी कोइरालाको बाटो छाडेर मातृका कोइरालाको बाटो अंगालेको बताउँदै विदेशीको गुलामी गर्ने काँग्रेस प्रवृति अझै बढेको बताए ।
प्रमुख पार्टीहरुबिच एकता र सहकार्य मार्फत संबिधान कार्यान्वयनमा लाग्नु पर्ने समयमा काँग्रेसले खुट्टा कमाएर विदेशी शक्तिको चाकडी गरेको आरोप पनि लगाए ।
राष्ट्रियता र प्रजातन्त्रका लागि एमालेलाई समर्थनः कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताए । व्यवस्थापिका संसदमा ओलीको उम्मेदवारीको समर्थनमा बोल्दै उनले दुई उम्मेदवारमध्ये एक रोज्नै पर्ने अवस्थामा राष्ट्रियता र प्रजातन्त्रका पक्षमा प्रतिवद्ध ओलीलाई समर्थन गर्ने निर्णय गरेको बताए ।
प्रमुख तिन दलले सहमतिय सरकार गठन गर्न नसकेपछि आफुले बाध्य भएर राष्ट्रवादी उम्मेदवारका पक्षमा लागेको बताएका थिए । थापाले मुलुक बिषम परिस्थितीमा रहेको र भूकम्पले निम्त्याएको क्षतिको पुननिर्माणमा जुट्ने पर्ने समयमा तीन दलको एकता टुटेकोमा दुःख लागेको पनि बताएका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.