राष्ट्र बैंक भन्छः नाकाबन्दी र आन्दोलनले अर्थतन्त्र कठिन अवस्थामा

  २०७२ कार्तिक १६ गते १०:४४     विकासन्युज

काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले राष्ट्रिय अर्थतन्त्र असहज अवस्थामा पुगेको टिप्पणी गरेको छ । चालु आर्थिक बर्षको साउन र भदौ महिनाको तथ्यांक विश्लेषण गर्दै राष्ट्र बैंकले यस्तो टिप्पणी गरेको हो ।

गत बैशाखको विनासकारी भूकम्प पछिको पुननिर्माणले गति लिन नसकेको, सरकारी खर्च नबढेको, विकास निर्माणका कार्यले गति लिन नसकेको, सीमा अवरोधले उद्योग सेवा र कृषि क्षेत्रको बृद्धिमा नकारात्मक असर पुगेकोले अर्थतन्त्र कठिन अवस्थामा पुगेको राष्ट्र बैंकको ठहर छ । यस्तै चालु आर्थिक बर्षको लागि लिइएको आार्थिक बृद्धिदरको लक्ष्य पनि नपुग्ने राष्ट्र बैंकले बताएको छ ।

‘चालु आर्थिक वर्षमा भूकम्प पछिको पूनर्निर्माण तिव्र गतिमा अघि वढ्ने, सरकारको पूँजीगत खर्चमा उच्च वृद्धि हुने र उद्योग तथा सेवा क्षेत्रमा उत्साहजनक सुधार हुने अनुमानका आधारमा आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने अनुमान गरिएको थियो, तर चालु वर्षको दोस्रो महिनासम्म अपेक्षा गरे अनुसार नत भूकम्प पछिको पुननिर्माणले तिव्र गति लिन सक्यो न सरकारको पूँजीगत खर्चमा उच्च वृद्धि भयो,’ राष्ट्र बैंकले देशको बर्तमान अवस्था बारे उल्लेख गरेको छ ।

मनसुन ढिला शुरु भएकोले धान बाली प्रभावित भएको र तराइ–मधेशमा जारी लगातार बन्द हड्ताल र भन्सार नाकाहरुमा अवरोध हुँदा इन्धन लगायत समग्र आपूर्ति प्रणाली असहज भई उद्योग व्यवसायहरु प्रभावित भएको राष्ट्र बैंकको भनाइ छ । इन्धन आपूर्तिमा भएको असहजता लगायतका कारणले सरकारको विकास निर्माण कार्य ठप्प प्रायः छ । सेवा क्षेत्र अन्तर्गत पर्यटन, होटल, यातायात र शैक्षिक गतिविधि पनि प्रभावित भएका छन ।

तराइ–मधेशमा जारी बन्द हड्तालको कारण रासायनिक मल, किटनाशक औषधि लगायतका कृषि सामाग्रीको आपूर्ति र कृषि उपजको बजार पहुँचमा कठिनाई देखिएकोले कृषि क्षेत्रको उत्पादनमा नकारात्मक असर परेको राष्ट्र बैंकको ठम्याइ छ ।

भूकम्प पश्चात् बन्द अवस्थामा रहेका ठूला जलविद्युत आयोजनाहरुको निर्माण कार्य चालू आर्थिक वर्षको दोस्रो महिनासम्म पनि सुचारु हुन सकेको छैन । सडक एवम् सिँचाई लगायतका पूर्वाधार निर्माण कार्यहरु पनि इन्धन आपूर्तिमा भएको असहजताले प्रभावित भएका छन् । इन्धन एवम् आवश्यक कच्चा पदार्थ आपूर्तिको अभावमा औद्योगिक क्षेत्रमा नकारात्मक असर परेको छ ।

भूकम्प पश्चात् शिथिल अवस्थामा रहेको पर्यटन क्षेत्र तराई क्षेत्रमा रहेको लगातार बन्द हड्ताल र व्यापारिक मार्गहरुमा भएको अवरोधले थप प्रभावित भएको छ । यो अवधिमा पर्यटकस्तरीय होटलहरुको अकुपेन्सी दर करीव ३० प्रतिशत रहेको छ ।

अध्यादेशमार्फत् गठित पुनर्निर्माण प्राधिकरण आवश्यक कानूनी व्यवस्थाको अभावमा कार्यान्वयनमा आउन नसकेकोले सरकार मार्फत् हुने पुनर्निर्माण कार्यको शुरुवात हुन सकेको छैन । यसैगरी, सरकारबाट भूकम्प पीडितहरुको आवासीय घर पुनर्निर्माणका लागी उपलव्ध गराइने प्रति घरपरिवार २ लाख रुपैयाँ अनुदान भदौ मसान्तसम्ममा वितरण हुन सकेको छैन । ऐतिहासिक सम्पदाहरु एवम् नीजि घर÷भवनहरुको पुनर्निर्माण कार्य यस अवधीसम्ममा शुरुवात भएको छैन ।

नेपालको चीनतर्फका प्रमुख दुई नाकाहरुमध्ये रसुवागढी नाकामा पहिरो हटाई यातायातका साधनहरु चल्न योग्य बनाइएको भए पनि कोदारी नाकातर्फ भने अरनिको लोकमार्गको बाह्रविसे–तातोपानी खण्डमा पहिरो हटाउन बाँकी रहेकोले उक्त नाका अझै सुचारु हुन सकेको छैन । रसुवागढी नाका जाने सडकको ७ कि.मी. राम्चे खण्डमा वाह्रै महिना पहिरोको खतरा रहेको तथा वेत्रावती –मैलुङ्ग– स्याफ्रुवेसीको ट्रयाक खोल्ने कार्य अझै सम्पन्न हुन नसकेकोले सो नाका कुनै पनि वेला अवरुद्ध हुन सक्ने स्थिति छ ।

चतरा स्थित कोशी नदीमा नवनिर्मित पक्की पुल २०७२ साउन १८ देखि आवागमन खुला गरिएको छ । यो पुल भएर मुख्य राजमार्गमा जोडिने सडक खण्डका केही स्थानहरुमा कच्ची बाटोलाई सुधार गरी ठूला सवारी साधनको लागि उपयुक्त बनाउने कार्य बाँकी रहेको छ ।

राष्ट्र बैंकले यिनै तथ्य र आधारमा आर्थिक अवस्था कठिन मोडमा पुगेको बताएको हो । आफूलाई प्राप्त तथ्यांक र घटनाक्रम विश्लेषण गर्दा  आर्थिक वृद्धिको परिदृश्यमा प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.