२०७२ कार्तिक १७ गते ११:५४ विकासन्युज
काठमाडौं, १७ कात्तिक । भारतको अघोषित नाकाबन्दी र तराइ–मधेशमा जारी आन्दोलनको कारण नेपालको ब्यापार घाटा कम भएको छ । चालु आर्थिक बर्षको भदौ महिनासम्ममा गत बर्षको सोही अवधिको तुलनामा ब्यापार घाटा कम भएको हो ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार भदौ मसान्तसम्ममा कुल वस्तु व्यापार घाटा १७ दशमलब ८ प्रतिशतले कम भई ९१ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २४ दशमलब ९ प्रतिशतले बढेकोे थियो ।
कुल वस्तु व्यापार घाटामध्ये भारत र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १९ दशमलब ६ प्रतिशत र २६ दशमलब ८ प्रतिशतले घटेको छ भने चीनसँगको व्यापार घाटा ६ दशमलब २ प्रतिशतले बढेको छ । पछिल्लो समयमा चीनवाट पेट्रोलियम पदार्थ पनि आयात गर्ने सम्झौता भएकोले चीनसँगको ब्यापार घाटा अझ बढ्ने देखिएको छ । भारतसँगको ब्यापार घाटामा पेट्रोलियम पदार्थको हिस्सा निकै ठूलो रहेको छ ।
अघिल्लो बर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः २२ दशमलब ९ प्रतिशत, ४१ दशमलब १ प्रतिशत र २२ दशमलब ४ प्रतिशतले बढेको थियो । आयात उच्च दरले घटेको कारण निर्यात–आयात अनुपात ११ दशमलब ८ प्रतिशत पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलब ४ प्रतिशत रहेको थियो ।
निर्यात १५ प्रतिशतले घट्यो
कुल वस्तु निर्यात १५ दशमलब २ प्रतिशतले घटेर १२ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४ दशमलब ८ प्रतिशतले कमी आइ १४ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेको कारण समग्र निर्यातमा ह्रास आएको हो ।
कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलब ६ प्रतिशतले घटेकोमा यो अवधिमा २२ दशमलब ८ प्रतिशतले घटेको छ । जिङ्क शिट, जुस, पोलिष्टर धागो, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो ।
चीनतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १५ दशमलब ३ प्रतिशतले घटेकोमा यो अवधिमा १२ दशमलब ३ प्रतिशतले घटेको छ । प्रशोधित छाला, तयारी पोशाक, रुद्राक्ष, अगरवत्ति लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात घटेको हो ।
अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा शुन्य दशमलब ५ प्रतिशतले बढेकोमा यो अवधिमा ३ प्रतिशतले घटेको छ । विशेषतः दाल, प्रशोधित छाला, चिया, हस्तकलाका सामान लगायतका वस्तुहरुको निर्यात घटेको कारण अन्य मुलुकतर्फको निर्यात घटेको हो ।
आयात साढे १७ प्रतिशतले घट्यो
कुल वस्तु आयात १७ दशमलब ५ प्रतिशतले घटेर १ खर्ब ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दशमलब ५ प्रतिशतले वृद्धि भई १ खर्ब २६ अर्ब २ करोड रुपैयाँ पुगेको थियो । तराई मधेशमा जारी आन्दोलनले आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएको कारण नेपालमा आयात हुने पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आयात घटेकोले समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो ।
कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १८ दशमलब ७ प्रतिशतले बढेको तुलनामा यो अवधिमा १९ दशमलब ९ प्रतिशतले घटेको छ । भारतबाट मुख्यतया रासायनिक मल, एम.एस.वायर रड, कोल्ड रोल्ड शिट इन क्वायल, हट रोल्ड शिट इन क्वायल लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एम.एस.विलेट, सिमेन्ट, औषधि लगायतका वस्तुहरुको आयातमा कमी आएको छ ।
चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा ३९ दशमलब ८ प्रतिशतले बढेको तुलनामा यो अवधिमा ५ दशमलब ९ प्रतिशतले बढेको छ । मुख्यतयाः तयारी पोशाक, जुत्ता÷चप्पल, दुर सञ्चारका उपकरण तथा पार्टपूर्जा यातायातका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण चीनबाट भएको आयात बढेको हो ।
अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १७ दशमलब ७ प्रतिशतले बढेकोमा यो अवधिमा २२ दशमलब ४ प्रतिशतले घटेको छ । विशेषगरी चाँदी, रासायनिक मल, हवाइजहाजका पार्टपुर्जा कपर वायर रड लगायतका वस्तुहरुकोे आयात घटेको कारण यो अवधिमा अन्य मुलुकबाट भएको आयात घटेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.