साबुन, स्याम्पु र टुथपेष्टदेखि कस्मेटिकका सामान पनि अभाव

  २०७२ कार्तिक १८ गते १७:३२     विकासन्युज

काठमाडौं, १८ कात्तिक । ‘स्वस्थ शरिर, स्वस्थ मष्तिष्क’ भन्ने मान्यता नै छ संसारमा । । रोग लागेपछि उपचार गराउनु भन्दा रोग लाग्न नै नदिनु उपयुक्त हुन्छ । तर भारतीय नाका बन्दीले नेपालीलाई स्वस्थ बनाउने सामग्रीकै अभाव सुरु भएको छ । मधेशमा जारी आन्दोलनका नाममा भारतले सुरु गरेको सिमाको अवरोधले नेपालीलाई स्वस्थ बनाउन प्रयोग हुने सामान तथा कस्मेटिक उपजहरुको चरम अभाव सुरु भैसकेको छ ।

Bikashnews.com

बज्राचार्य दम्पति आफ्नो कस्मेटिक्स पसलमा समान खोज्दै

बजारमा साबुन, स्याम्पु, टुथपेष्टको अभाव सुरु भएको बिक्रेताहरुले बताउन थालेका छन् । बालाजुका किराना व्यवसाय मनोज महजर्नले साबुन, स्याम्पु, टुथपेष्ट तथा बिस्कुट र चाउचाउहरुको समेत अभाव सुरु भएको बताए । भोटाहिटीस्थित पल्पसा कस्मेटिक्सका प्रोप्राईटर रुपकमान बज्राचार्यले थोक बिक्रेताले ५ प्रतिशत मुल्य वृद्धि गरिसकेको बताए । उनको पसलमा पोण्ड्स क्रिम, स्याम्पु लगायतका कस्मेटिक आईटमको अभाव सुरु भैसकेको बताए ।
भारत बाहेक तेश्रो मुलुकका समान समेत भारतीय नाका हुँदै नेपाल आउने भएकाले ती समानको पनि अभाव रहेको उनले बताए । उनको कस्मेटिक पसलमा ५० प्रतिशत भारतीय उत्पादनका समानहरु रहेका छन् । अहिले ती सबैको अभाव सुरु भैसकेको छ । महावौद्धस्थित स्याममानेश्वर कस्मेटिक्सका सञ्चालक स्यामान मानन्धरका अनुसार अधिकांश भारतीय कस्मेटिक आईटमहरुको अभाव रहेको छ । उनले औषतमा ४० प्रतिशत भारतीय समान बेच्दै आएका छन् । तेश्रो मुलुकका उत्पादन समेत भारतीय नाकाबाटै आउने भएकाले अभाव सुरु भएको उनको भनाई छ ।

बजारमा महिलाहरुले लगाउने टिका(बिन्दिया)को पनि अभाव सुरु भैसकेको छ । नेपाली महिलाहरुले लगाउने ९० प्रतिशत भन्दा बढि टिका अर्थात बिन्दिया भारतबाटै आउने गरेको छ ।

कस्तो छ आयातको अवस्था ?
गत आर्थिक बर्ष २०७१/७२ मा कुल ६ अर्ब ३६ करोड ३० लाख ८२ हजार बराबरको कस्मेटिक समान, स्याम्पु, टुथपेष्ट लगायतका समान आयात भएका थिए । पछिल्लो दुई महिना भन्दा लामो समयदेखि नयाँ समान आयात नभएकाले अभाव सुरु भएको हो । यी सबै समान भारतकै बाटो हुँदै नेपाल भित्रिने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.