२०७२ कार्तिक २० गते ९:०१ विकासन्युज
काठमाडौं, २० कात्तिक । नविल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६६ करोड ३८ लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा बैंकले कमाएको भन्दा १५ करोड ९० लाखले बढि हो । गत आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकले जम्मा ५० करोड ४८ लाख मात्रै नाफा कमाएको थियो ।
नविलको ब्याज आम्दानी एक अर्ब ५० करोड रुपैंयाँ पुगेको छ भने ब्याज खर्च जम्मा ६० करोड ६३ लाख रहेको छ । बैंकले सो अवधीमा एक खर्ब ९ अर्ब ८६ करोड निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी भने जम्मा ६७ अर्ब ४३ करोड मात्रै गर्न सकेको छ । भूकम्प र भारतीय नाका बन्दीका कारण बैंकले यथेष्ठ मात्रामा पूँजी परिचालन गर्न भने नसकेको देखिन्छ । यद्यपी बैंकको नाफामा भने यी दुबै घट्नाले असर गरेको देखिन्न ।
बैंकको प्रति सेयर आम्दानी पनि ६५ रुपैंयाँ ३ पैसाबाट बढेर ७१ रुपैंयाँ २३ पैसा पुगेको छ । बैंकको प्रति सेयर नेटवर्थ र पिई रेसियो भने घटेको छ । प्रति सेयर नेटवर्थ ३१२ रुपैंयाबाट घटेर २७८ रुपैंयाँमा खुम्चिएको छ भने पिई रेसियो पनि ३५ रुपैंयाँ ९९ पैसाबाट घटेर ३३ रुपैंयाँ १३ पैसामा झरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.