८९ लाख कित्ता सेयर बेच्दै नेपाल बैंक, चार कम्पनीका सेयरको मूल्य तोकियो

  २०७२ कार्तिक २२ गते ८:१९     विकासन्युज

काठमाडौं, २२ कात्तिक । नेपाल बैंकले विभिन्न चार कम्पनीमा रहेको करिब ८९ लाख कित्ता प्रबद्र्धक सेयर बिक्री गर्दै छ । राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, नेपाल इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटल लिमिटेडमा रहेको ८८ लाख ७८ हजार ६३० कित्ता सेयर बिक्री गर्दैछ ।

रामकृष्ण पौडेल

ती कम्पनीहरुको सेयर बिक्री टेण्डर प्रक्रियाबाट बढाबढ मूल्यमा गरिने भएको छ । बैंकले टेण्डर गर्ने प्रयोजनको लागि सम्बन्धित कम्पनीहरुको सेयरको न्यूनतम मूल्य तय गरेको छ । सेयर बिक्री मूल्याङ्कन उपसमितिले न्यूनतम मूल्य तय गरी सञ्चालक समितिमा प्रतिवेदन पेश गरेको छ ।

स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीको सेयरको मूल्य सबैभन्दा बढी छ । यस कम्पनीको न्यूनतम मूल्य प्रति कित्ता ४ हजार ३१२ रुपैयाँ ३५ पैसा तोकिएको छ । पछिल्लो समयमा उक्त सेयर ४ हजार ७ सयमा कारोबार भएको छ । नेपाल बैंकसँग राष्ट्रिय बीमा कम्पनीको १ लाख ३६ हजार ४१० कित्ता सेयर रहेको छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री भए पनि नेपाल बैंकले ५८ करोड ८२ लाख ४७ हजार रुपैयाँ आम्दानी गर्नेछ ।

नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार ५४१ रुपैयाँ तोकिएको छ । बैंकसँग कोषको ३ लाख ३३ हजार ९४० कित्ता सेयर छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री भएमा पनि बैंकल १ अर्ब १ करोड ६२ लाख ४७ हजार आम्दानी गर्ने छ ।

नेपाल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता न्यूनतम २७९ रुपैयाँ ८१ पैसा तोकिएको छ । बैंकसँग नेपाल इन्स्यारेन्सको १३ लाख ४२ हजार २८० कित्ता सेयर रहेको छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री हुँदा पनि ३७ करोड ५५ लाख ६० हजार रुपैयाँ बैंकले आम्दानी गर्नेछ ।

त्यस्तै नेपाल बैंकसँग तारागाउँ रिजेन्सी होटल लिमिटेडको ७० लाख कित्ता सेयर छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकत्ता १७२ रुपैयाँ २२ पैसा तोकिएको छ । यस होटलको सेयर बिक्रीबाट बैंकले कम्तिमा एक अर्ब २० करोड ५५ लाख ४० हजार आम्दानी गर्नेछ ।

कृति क्यापिटल कम्पनीले दिएको रिपोर्टका आधारमा उक्त मूल्य निर्धारण गरिएको स्रोतले बतायो । अर्थमन्त्रालयका प्रतिनिधि राजीव गौतम, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निराज गिरी, सञ्चालक निश्चल प्रधान र प्रमुख कार्यकारी अधिकृत देबेन्द्रप्रताव शाह रहेको उपसमितिले तयार गरेको मूल्य निर्धारण प्रतिवेदनबारे अन्तिम निर्णय लिन आज बैंक सञ्चालक समितिको बैठक बोलाईएको स्रोतले बतायो ।

सेयर बिक्रीबाट आएको रकम बैंकको संचित नोक्सानी पूर्ति गरिने भएको छ । असार मसान्तसम्ममा बैंक २ अर्ब ५९ करोड रुपैयाँ संचित नोक्सानमा छ । बैंको सेयर बिक्रीबाट कम्तिमा ३ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुनेछ । मूल्य बढाबढ गरिने हुँदो ३ अर्ब ५० करोड रुपैयाँसम्म आम्दानी हुन सक्ने बैंकको विश्लेषण रहेको छ । राष्ट्र बैंकले तोकेअनुसार पुँजी प्रयाप्तता कायम गर्न सेयर बिक्री गर्नु परेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताव शाहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.