यसरी ब्युझिँयो पाँच खालसम्म ग्यास ल्याउने पञ्चायतकालिन योजना

  २०७२ कार्तिक ३० गते १५:३७     विकासन्युज

काठमाडौं, ३० कात्तिक । काभ्रेको पाँचखाललाई नेपाल र चीनका लागि व्यापारिक केन्द्रका रुपमा स्थापित गर्ने पञ्चायतकालिन योजना पुनः ब्युझिँएको छ । भारतले लगाएको अघोषित नाका बन्दीलाई छिचोल्न सरकारले चीनसँगको व्यापारिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने प्रयास थालेसँगै पाँचखाल योजना पुनः अघि सारिएको हो ।

Biashnews.com
पाँचखालमा नेपाल र चीनको भन्सार कार्यालय खोल्ने र ग्यासका बुलेट सिधै ल्याउने तयारीमा नेपाल र चीनका अधिकारीहरुबिच छलफल सुरु भएको हो । चीनका लागि नेपाली राजदुत डा. महेश मास्केले उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटमा पाँचखाललाई केन्द्र बनाएर चीनले ग्यासका बुलेट पठाउन सकिने बताएको जानकारी आइतबार दिएका थिए । उपराष्ट्रपतिसँगको भेटमा राजदुत डा. मास्केले ग्यास बाहेकका अन्य समान भने केरुङ नाकाबाटै ल्याउनु पर्ने चिनियाँ धारणा समेत सुनाएका थिए ।

चीनले किन रोज्य केरुङ नाका ?
चीनियाँ मामला जानकार श्रोतहरुका अनुसार दुई वटा कारणले चीनका लागि तातोपानी नाका टाउको दुखाईको बिषय बन्दै आएको थियो । त्यस २०७२ साल बैशाख १२ गतेको भूकम्पले नयाँ कारण थपिदिएको छ । तातोपानी नाका रक्त चन्दन र सुन तस्करीका लागि बदनाम नाका हो । त्यसो त अन्य समानहरुको चोरु पैठारीका लागि पनि यो नाकाले बदनामी कमाउँदै आएको थियो । जुन चीनियाँ पक्षका लागि चुनौतीका रुपमा खडा थियो ।

त्यस्तै अर्काे महत्वपुर्ण कारण भनेको तिब्बति सरणार्थीको उल्झन नै हो । स्वतन्त्र तिब्बतका पक्षमा हुने गतिबिधिहरुका लागि यो नाका आसपासको नेपाली भूमिको अधिक प्रयोग भैरहेको चिनियाँ बिश्लेषण चिनियाँ पक्षले गरेको छ । एक चीन निती विरुद्ध हुने गतिबिधी रोक्न चीनले यो नाकाको विकल्प खोज्ने तयारी गरेको लामो समय भैसकेको थियो ।

अर्काे महत्वपुर्ण कारण भनेको बैशाख १२ गतेको भूकम्पका कारण चीन तर्फको सडक समेत अवरुद्ध भएको छ भने चीनले आफ्नो तर्फको ठुलो बस्ती अन्यत्रै स्थानान्तरण गरिरहेको छ र केहि सारिसकेको पनि छ । अब चीनले एउटै तिरबाट तीनवटा शिकार गर्न खोजेको बिश्लेषकहरु बताउँछन् । पहिलो भनेको रक्तचन्दन र सुन तस्करीको बदनामी रोक्ने, दोश्रो भनेको फ्रि तिब्बतका पक्षमा हुने अवाञ्छित गतिबिधि निस्तेज पाने अनि तेश्रो कारण भनेको भूकम्पका कारण क्षतिग्रस्त पुर्वाधार तथा जोखिममा परेको मानव बस्तीलाई सुरक्षित स्थान सार्ने ।

के हो पाँचखाल बुलेट योजना ?
पाँचखालमा चीनबाट इन्धन ल्याएर भण्डार गर्ने योजना पञ्चायतकालमै बनेको हो । पञ्चायतकालमा तत्कालिन राजा बिरेन्द्र र प्रधानमन्त्री मरिचमान सिंहले तातोपानी नाका हुँदै चीनबाट ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन ल्याउने र काभ्रेको पाँचखालमा भण्डारण गर्ने योजना अघि बढाएका थिए । तर यो योजना मन्त्री परिषदबाट पास हुन नपाउँदै पञ्चायत ढलेको र बहुदलिय व्यवस्था आउना साथ त्यस्तो प्रस्ताव आफैं थन्किएको थियो । हाल पुनः चीनबाट ग्यासका बुलेट सिधै पाँच खालसम्म ल्याउने र त्यहाँ भण्डारण गर्ने योजना अघि सारिएको हो ।

राजनीतिक विश्लेषक तथा नेपाल चीन सम्बन्धमा चासो राख्ने डा. सुरेन्द्र केसीले चीनबाट ग्यास लगायतका इन्धन ल्याउने प्रयास सकारात्मक भएपनि त्यसको असफलताले दुष्परिणाम ल्याउने बताउँछन् । उनको बुझाईमा चीनबाट इन्धन ल्याउने योजना सफल भएमा नेपाल र नेपाली जनताका लागि सुखद दिन आउन सक्छन तर यदि त्यो योजना असफल बन्यो भने दुर्भाग्यपुर्ण दिन सुरु हुने छ ।

‘योजना सफल हुने हो भने त्यो नेपाली जनताका लागि सौभाग्यको कुरा हो तर अहिले हल्ला मात्रै गर्ने तर कार्यान्वयन नगर्ने हो भने त्यसले ठुलै दुस्परिणाम निम्त्याउने छ’ डा. केसीले भने । राष्ट्रिय योजना आयोगका पुर्व सदस्य समेत रहेका अर्थविद डा. चन्द्रमणि अधिकारीले व्यापारिक दृष्टिकोणले चीनबाट ग्यास लगायतका इन्धन ल्याउने योजना राम्रो भएको बताए । ‘सडक र पुर्वाधारको कुरा सरकारले बुझद्छ, व्यापारिक दृष्टिकोणले चीनबाट ग्यास ल्याउने कुरा सकारात्मक छ’ डा. अधिकारीले भने । सरकारले पाँचखाललाई औद्योगीक क्षेत्र बनाउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.