२०७२ मंसिर ७ गते १३:२८ विकासन्युज
काठमाडौं, ७ मंसिर । भारतीय नाकाबन्दीका कारण बैंक तथा वित्तीय संस्थाले जारी गर्दै आएको एटीएम कार्ड समेत अभाव भएको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड भारतमा छापिने गरेको र पछिल्लो समय भारतबाट नेपालतर्फ उडान भर्ने हवाई कम्पनीहरुले कार्गो ढुवानी नियमित नगरेकाले समस्या आएको बैकर्सहरुले बताएका छन् ।
भारतबाट आउने जहाजले नियमित कार्गो बोक्न छोडेकोले डेविट तथा क्रेडिट कार्ड ग्राहकलाई समयमा दिन नसकिएको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले विकासन्युसँग बताए । बैंकको कार्ड चेन्याईमा छापिने गरेको, हवाई जहाजले इन्धनको अभाव जनाउँदै कार्गोको सामान कहिले ल्याउने, कहिले नल्याउने गरेकोले ग्राहक निवेदन गर्ने वित्तीकै कार्ड उपलब्ध गराउन नसकिएको उनले बताए । ग्राहकले माग गरेको तीन साताभित्र कार्ड वितरण भईरहेको उनले जानकारी दिए ।
नविल बैंकमा निक्षेप खाता खोलेका राजेश सापकोटाले एटीएम कार्ड नपाएपछि निराशा र आक्रोश व्यक्त गरे । ‘झोलामा बोकेर हजारौको संख्यामा एटीएम कार्ड आपूर्ति गर्न सकिने बस्तुको आयात नियमित गर्न नसक्ने देशमा पेट्रोलिप पदार्थको आपूर्ति कसरी सहज होला ? उनले प्रश्न गरे ।
मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आफूहरुले हालै ३ लाख एटीएम कार्ड भित्र्याएको भन्दै आफ्नो बैंकमा समस्या नभएको बताए । केही बैंकमा समस्या भए पनि सबै बैंकमा यस्तो समस्या नहुनुपर्ने उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकमा अनुसार इन्धन अभावकै कारण नेटवर्क सेवा प्रदायक, डाटा सेन्टर, डिज्यास्टर रिकभरी लगातय सेवा प्रदायक कम्पनीहरु धैरै दिन चल्न सक्ने अवस्थामा नरहेको कारण निकट भविश्यमा बैंकिङ्गसेवा र भुक्तानी प्रणाली नै अवरुद्ध हुने देखिएको छ ।
नाकाबन्दीको प्रभाव बारे राष्ट्र बैंकले गरेको अध्ययन रिपोर्टमा भनिएको छ कि भारतीय नाकाबन्दी र तराईमा जारी बन्द हड्ताल कारण तराई भूभाग, खासगरी तराईका वजार र सीमा क्षेत्रका अधिकांश बैंक तथा वित्तीय संस्थाहरु विगत तीन महिना देखि नियमित सञ्चालन हुन सकेका छैनन् ।
इन्धन अभावको कारण राजधानी लगायत अन्य जिल्लाहरुमाअधिकांश बैंक तथा वित्तीय संस्थाहरुका सन्ध्याकालीन काउन्टरहरु बन्द हुदै गएका छन् भने शाखारहितबैंकिङ्ग सेवा अांशिक रुपमा मात्र संचालनमा रहेका छन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.